भीमफेदी–कुलेखानी सुरुङमार्ग कार्यालयको हेटौंडामा उदघाटन
असोज, हेटौंडा – बागमती प्रदेश सरकारले निर्माण गर्नलागेको हेटौंडा काठमाण्डौं मार्ग अन्तर्गत पर्ने भीमफेदीदेखि कुलेखानीसम्ममा निर्माण हुन लागेको पोस्टबहादुर बोगटी सुरुङ्गमार्ग आयोजनाको कार्यालय उदघाटन भएको छ । कार्यालयको एक समारोहकाबीच प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले उदघाटन गर्नुभएको हो ।
कार्यालयको उदघाटन गर्दै मन्त्री फुयालले प्रदेश गौरबको आयोजनाको रुपमा रहेको सुरुङ्गमार्ग तोकिएको समयमै निर्माण हुने बताउनुभयो । मन्त्री फुयालले मदन भण्डारी मार्ग अन्तर्गत मकवानपुरको भैंसेदेखि भीमफेदी – सिस्नेरी – दक्षिणकाली हुँदै काठमाण्डौंको बल्खु सम्मको ६५ किलोमिटर सडकको विस्तारको काम द्रुतगतिमा भइरहेको बताउनुभयो । उहाँले सोही मार्ग अन्तर्गत ५० करोडको लागतमा भैसेदेखि भीमफेदी सम्मको सडक स्तरीकरण गर्ने कार्य प्रारम्भ भइसकेको जानकारी दिनुभयो ।
सुरुङ निर्माणको काममा गति पैदा भएको भन्दै मन्त्री फुयालले चालु आर्थिक वर्षको अन्त्य सम्ममा जनताले प्रत्यक्ष अनुभूत गर्ने अवस्थामा पुयाउने दाबी गर्नुभयो । कार्यक्रममा बोल्दै मन्त्रालयका सचीव सञ्जिव बरालले यसमार्ग निर्माणले दीर्घकालीन रुपमा देशलाई फाइदा पुर्याउने धारणा राख्नुभयो । उहाँले देशको समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने यस आयोजना कसैको पनि हित विपरित नभएको दबी गर्नुभयो ।
पोष्टबहादुर सुरुङमार्ग निर्माणका लागि रु १९ अर्व ३२ करोड खर्च हुने अनुमान गरिएको छ । तीनवटा पुलसहित दुईसुरुङ जोड्ने एप्रोच सडक निर्माण गरिने जनाइएको छ । सुरुङमार्गको विस्तृत अध्ययन प्रतिवेदन अनुसार ३ दशमलव २१ किलोमिटर लामा र १५ र ७ मिटर फराकिला दुर्ई वटा सुरुङ निर्माण गरिने छ ।
सरकारले सुरुङमार्गलाई निजगढ काठमाण्डौं द्रुतमार्गसँगसमेत जोड्ने योजना अघि सारेको छ । त्यसो गर्नसके हेटौंडा काठमाण्डौंको दरी ५२ किलोमिटरमा छोटिने आयोजनाका नवनियुक्त प्रमुख सिनियर डिभिजन इन्जिनियर नविन कुमार सिंहले जानकारी दिनुभयो । 3.२७ किलोमिटरको सुरुङ्गमार्ग ४२ महिनामा सम्पन्न गरिने लक्ष्य रहेको सिंहले बताउनुभयो ।






