राष्ट्रिय दलित पत्रकार संघ मकवानपुरको अध्यक्षमा शुभलक्ष्मी विक चयन
फाल्गुन, हेटौडा – राष्ट्रिय दलित पत्रकार संघ, नेपाल मकवानपुरको प्रथम जिल्ला भेलाबाट अन्नपूर्ण पोष्टकर्मी शुभलक्ष्मी विश्वकर्माको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन भएको छ । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको सभाहलमा आयोजना भएको भेलाबाट विश्वकर्माको अध्यक्षतामा कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको हो ।
उपाध्यक्षमा रूपक कलिराज (हजुरको खबर डटकम), सचिवमा शान्ति सुनार (रेडियो मकवानपुर), सह-सचिव युवराज विश्वकर्मा (रेडियो मकवानपुर), कोषाध्यक्षमा पारू परियार (रेडियो अनमोल), सदस्यहरूमा प्रज्वनी सुनार(रेडियो अनमोल), सिमा सुनार (हजुरको खबर डटकम), विश्व सुनार, प्रशंसा सुनार सर्वसम्मत रूपमा चयन भएका छन्।
नेपाल पत्रकार महासंघ मकवानपुरकी सह-सचिव समेत रहनुभएका शुभलक्ष्मी विश्वकर्माको अध्यक्षतामा भेला सम्पन्न भएको थियो । संघका बागमती प्रदेश उपाध्यक्ष कमल कुमार विश्वकर्माको प्रमुख आतिथ्यतामा उक्त भेला सम्पन्न भएको थियो ।
प्रमुख अतिथि विश्वकर्माले दलित समुदायका पत्रकारहरूको हकहितका लागि सदैव यस संघ अग्रसर रहनेमा विश्वस्त रहेको बताएका छन् । विश्वकर्माले मिडियामा समावेशीकरण हुनुपर्ने साथै मिडियामा दलित समुदायका पत्रकारहरूको भौतिक उपस्थितिको सवालमा यस संघले पहलकदमी गर्नेमा आफू ढुक्क रहेको बताएका छन्। यस संघले दलित समुदायका पत्रकारहरूलाई सिकाउने, बिकाउने र टिकाउने सवालमा काम गर्न विश्वकर्माले जोड दिएका छन्।
कार्यक्रमका विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ मकवानपुर शाखा अध्यक्ष हरि हुमागाईंले संघले आम श्रमजीवि पत्रकारहरूका लागी महत्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको बताउनुभएको। अध्यक्ष हुमागाईंले पत्रकार महासंघले दलित पत्रकार संघलाई सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । पत्रकार महासंघको आसन्न निर्वाचनमा समेत दलित समुदायबाट नेतृत्वदायी भूमिका निर्वाह हुनेमा आफू विश्वस्त रहेको बताउनु भयो ।
कार्यक्रममा अग्रज पत्रकार कृष्णराम परियारले निष्पक्ष पत्रकारिता गर्न सबैमा आग्रह गर्नुभयो । उहाँले कुनैपनि विषयको समाचार हतारमा प्रकाशन र प्रसारण नगर्न समेत आग्रह गर्नुभयो।






