धुवाँले ढाकियो ‘हेटौंडा’, अनावस्यक बाहिर ननिस्कन चिकित्सकको आग्रह
चैत्र, हेटाैँडा – बिहानैदेखि हेटौंडामा घाम झुल्केको छैन । हुस्सु, तुवालोले ढाकेजस्तो देखिएको छ । यसले भिजिबिलिटी घटाएको छ । तर तापक्रम भने घटेको छैन । मानिसहरूले घरबाहिर निस्कँदा आँखा पीरो हुनेजस्ता असजिलो महशुस गरिरहेका छन् ।
वातावरण विभागका अनुसार यसो हुनुमा प्रदूषण बढ्नु हो । हेटौंडा धुवै धुवाँले कुइरीमण्डल बनेको छ । वनबाट फैलिएको धुवाँले हेटौंडा बजार र आसपासका गाउँ सबै ढाकेको छ । केहिदिन देखि हेटौंडा वरपरका वनमा लागेको डढेलोको कारण हेटौंडामा अध्याघिक वायु प्रदुषण बढेको छ ।
सम्बन्धित निकायले वनमा लागेको डढेलो नियन्त्रणमा चासो नदिदा हेटौंडामा वन जलेर सखाप भएका छन् भने धुवाले हेटौंडा सबै ढाकेको छ ।अत्याधिक वायु प्रदुषणका कारण बाहिर निस्किदा आँखा पोल्ने, पिरो हुने, सास फेर्न गाह्रो हुने जस्ता समस्या देखिएका छन् ।
अहिले हेटौंडामा खालि आँखाले हेर्नै नसकिने गरी धुवै धुवाले ढाकिएको छ । वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीका अनुसार मंगलबार हेटौंडाको एक्वुआई २५० पुगेको थियो ।
वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्वुआई)मा मापन गरिन्छ । एक्वुआई ५० सम्म हुनु राम्रो हो, ५० देखि १०० सम्मलाई मोडरेट मानिन्छ । एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ । २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ । एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण हो । ३ सयभन्दा माथि जानुचाहिँ घातक हो ।
हेटौंडाको वायु निकै नै प्रदुषण र खतरा युक्त भएकाले अनावस्यक घरबाट बाहिर ननिस्कन चिकित्सकले आग्रह गरेका छन् । – बागमती खबरबाट






