मकवानपुर जिल्ला अदालतद्धारा अनलाईन बहस सुरु
बैशाख, हेटौडा – मकवानपुर जिल्ला अदालतले वैकल्पिक व्यवस्थापनको रुपमा अनलाईनको माध्यमबाट बहस सुरु गरेको छ । विश्वभरी फैलिएको नयाँ भेरिएन्टको कोरोना भाईरस (कोभिड–१९) को अवस्थामा जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञा जारी गरेको छ ।
निषेधाज्ञा अवधिमा मकवानपुर जिल्ला अदालतले तारेख दिने, बकपत्र गराउने तथा पेशी (सजाय निर्धारण बाहेक) अन्य सेवाहरु स्थगन गर्दै अन्य अदालती कामकारवाही नियमित गर्ने गरी अदालतले गत १९ गते सूचना जारी गर्दे अनलाईनको मध्यामबाट बहस सुरु गरेको जिल्ला अदालत मकवानपुरका निमित्त श्रेस्तादार अमृत घिमिरेले बताएका छन् ।
निमित्त श्रेस्तादार घिमिरेले बताए अनुसार अदालतले प्रहरी अनुसन्धानको क्रममा हिरासतमा रहेकाहरु, बालसुधार गृहमा रहेका कानुन संग विवादमा परेका बालबालिकाहरु, कारागारमा थुनामा रहेका थुनुवाहरु सँग अनलाईन मार्फत सुनुवाई गर्ने गरेको छ ।
अहिलेको प्रतिकुल समयको बाबजुत पनि जिल्ला अदालतले न्यायको ढोका खुल्ला गर्दे अनलाईनको माध्यमबाट श्रव्य दृश्य दुबैमा बहसको थालनी हुनु निकै राम्रो कार्य भएको मकवानपुर जिल्ला अदालत बार एशोसिएशनका अध्यक्ष ऋषी के.वी बताए ।
विहिबार अनलाईनको माध्यमबाट भएको बहसमा सरकारी वकिल शान्ति माया वाईबा, कानुनी व्यवसायी शुभ लक्ष्मी श्रेष्ठ, सुबास अधिकारी ललिता श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।






