हेटौंडाको एक ट्रान्सपोर्ट कार्यालय रहेको घरमा आगलागी
बैशाख, हेटौंडा – हेटौंडा उपमहानगरपालिका ४ हुप्राचौर स्थित एक घरमा आगलागी भएको छ ।
बुधबार राति हेटौडा ४ हुप्राचौर स्थित बिमला उप्रेतीको दुई तले पक्की घरमा काभ्रे पाँचखाल- ७ बस्ने राज कुमार न्यौपानेले संचालन गरेको सुभलाल ट्रान्सपोर्टमा अचानक आगोलागी हुँदा धनमाल जलेर नष्ट भएको छ भने घरमा आंशिक क्षती भएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अविनाश अधिकारीले बताएका छन्।
आगलागी भएको थाहा पाउनासाथ वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्टको कमाण्डमा गएको १५ जनाको टोली, हेटौंडा उपमहानगरपालिकाको वारुणयन्त्र र स्थानियको सहयोगमा बिहिबार बिहान करिब २ घण्टापछि आगो नियन्त्रणमा आएको थियो।
आगलागीबाट ट्रान्सपोर्ट भित्र रहेको दुई वटा मोटरसाइकल ४५ कार्टुन आगरबत्ती, बिद्युतिय सामाग्री, ७।८ रोल कार्पेट, मोटर पार्ट्सलगायत अन्य खाद्यान्न सामाग्री, सोलार, औषधी र कार्यालयको फर्निचर कागजपत्र जलेर नष्ट भएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिएका छन् । आगलागीबाट कुनैपनि मानवीय क्षति नभएको प्रहरीले बताएकाे छ ।






