बागमती प्रदेशको पुँजीगत खर्चको अवस्था कमजोर
असार, हेटौँडा – बागमती प्रदेश सरकारको पुँजीगत खर्चको अवस्था ज्यादै कमजोर देखिएको छ । चालु आर्थिक वर्ष २०७७/७८ को ११ महिनाको अवधिमा प्रदेश सरकारले कुल बजेट ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको करिब ४६ प्रतिशत मात्र खर्च गर्न सकेको छ ।
प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा विनियोजन गरिएको पुँजीगत अर्थात् विकास बजेट २६ अर्ब ५३ करोड ५५ लाख रुपैयाँमध्ये जेठ मसान्तसम्म ३६.१६ प्रतिशत अर्थात् ९ अर्ब ५९ करोड ६४ लाख रुपैयाँ मात्र खर्च भएको हो ।
यस्तै चालुतर्फ २२ अर्ब ८९ करोड ९१ लाख रुपैयाँ बजेट रहेकोमा ४८.६५ प्रतिशत अर्थात् ११ अर्ब १३ करोड ९२ लाख रुपैयाँ मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी राजेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
त्यस्तै, गत आर्थिक वर्षमा ५९ प्रतिशत मात्रै बजेट खर्च भएको थियो । आगामी आर्थिक वर्षमा २०७८/७९ का लागि प्रदेश सरकारले ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँको बजेट सदनमा पेश गरिसकेको छ ।
आगामी आर्थिक वर्र्षमा चालुतर्फ कुल बजेटको ४५ प्रतिशत अर्थात् २६ अर्ब १ करोड ६६ लाख २३ हजार, पुँजीगततर्फ ५१ प्रतिशत अर्थात् २९ अर्ब ७० करोड ४३ लाख र वित्तीय व्यवस्थातर्फ चार प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ छुट्याइएको छ । तर प्रदेशसभा बैठक बस्न नसक्दा सदनमा छलफल भने अगाडि बढेको छैन ।






