कोज्योसोम गाउपालिकामा तामाङ भाषामा पठनपाठन हुने

तामसालिङ खबर
२६ असार २०७८, शनिबार ०९:४७

असार, ललितपुर – ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा यसै शैक्षिक सत्रबाट तामाङ भाषामा पठनपाठन सुरु हुने भएको छ ।

कार्यपालिका बैठकले गाउँपालिकाको शिक्षा समितिको सिफारिसमा तामाङ मातृभाषाको शिक्षा लागु गर्ने निर्णय गरेको हो। यो निर्णय भएसँगै अब पुस्तक छापेर छिट्टै कक्षा सुुरु गरिने गाउँपालिका अध्यक्ष गोपिलाल सिङतानले जानकारी दिए ।

गाउँपालिकाभित्र रहेका सबै विद्यालयमा यो वर्ष कक्षा १ बाट पठनपाठन सुरु गर्ने अध्यक्ष सिङतानले बताए। उनका अनुसार गाउँपालिका भित्र तीन उच्च मावि, ३ मावि र ११ वटा आधारभूत गरी १७ वटा विद्यालय छन् ।

सबै विद्यालयमा तामाङ विद्यार्थीको बाहुल्यता रहेकोले संविधानले दिएको अधिकारलाई कार्यान्वयन गर्न गाउँपालिकाले पठनपाठन गर्न लागेको उनको भनाई छ । कोन्ज्यसोम गाउँपालिका तामाङ भाषामा शिक्षा लागु गर्ने पहिलो गाउँपालिका हुने भएको छ ।

गाउँपालिकाले सबै विद्यालयका एक/एक जना शिक्षकलाई पठनपाठनका लागि यसअघि नै तामयिग लिपिको तालिम दिइसकेको छ । गाउँपालिका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद आर्यालले उक्त निर्णय छिट्टै कार्यान्वयनमा लैजाने बताए ।

सम्भव भएसम्म दरबन्दी नै सिर्जना गरेर जाने कि भन्ने विषयमा पनि अनौपचारिक छलफल भएको उनले जानकारी दिए । शिक्षकलाई तालिम, पाठ्यपुस्तक निमार्णलगायतका काममा नेपाल तामाङ घेदुङले समन्वय गरिरहेको छ ।

तालिम दिने तथा पाठ्यापुस्तक निर्माणको भुमिका निर्वाह गरिरहेका प्रतिक तामाङले तामाङ बाहुल्यता रहेको गाउँपालिकाका सामुदायिक विद्यालयका बालबालिकाले मातृभाषामा शिक्षा पाउने सुनिश्चित भएकोमा खुशी व्यक्त गरे ।

नेपाल तामाङ घेदुङले भाषा आयोग समेतको प्राविधिक सहयोगमा स्थानिय तहहरुलाई संविधानले दिएको मातृभाषामा शिक्षा पाउने अधिकार सुनिश्चत गर्न अनुरोध गर्दै आएको छ ।

कोन्ज्योसोम बाहेक काभ्रेको रोशी गाउँपालिका, मण्डनदेउपुर नगरपालिका, नुवाकोटको किस्पाङमा लिपिको तालिम दिइसकेको छ। बाराको निजगढ नगरपालिकामा तालिम सञ्चालन भइरहेको अध्यक्ष मोहन गोलेले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*