बागमती प्रदेश सरकारद्वारा कोरोना विरुद्धको खोपका लागि दुई अर्ब विनियोजन
साउन, हेटौंडा – बागमती प्रदेश सरकारद्वारा कोरोना विरुद्धको खोपका लागि दुई अर्ब विनियोजन गरेको छ। सामाजिक विकास मन्त्रालयले कोरोनाको तेस्रो भेरियन्टमा बालबालिका अत्यधिक प्रभावित हुने भएकाले प्रदेश मातहतका अस्पताललाई २० प्रतिशत शैय्या छुट्याउन निर्देशन गरेको छ ।
सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले कोरोनाविरुद्धको खोप व्यवस्थापन देखि सङ्क्रमितलाई उपचार गर्न अस्पतालमा शैय्याको तयारी तथा अक्सिजन प्लान्टको तयारी प्रदेश सरकार गरिरहेको जानकारी दिनुभयो ।
चालू आर्थिक वर्ष २०७८/७९ मा प्रदेशका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने जनाउँदै उहाँले खोप लगाउन सरकारले विशेष प्राथमिकता दिएको र खोप व्यवस्थापनका लागि दुई अर्ब बजेट विनियोजन गरिएको बताउनुभयो ।
त्यस्तै, प्रदेश सरकारलाई ‘एसटिसी ग्रुप’ नामक संस्थाद्वारा २०० अक्सिजन सिलिण्डर प्रदान गरिएको छ । संस्थाका प्रबन्ध निर्देशक सुरेन्द्र उप्रेतीले सामाजिक विकास मन्त्रालयलाई सिलिण्डर हस्तान्तरण गर्नुभएको छ ।






