धरापमा बागमती प्रदेश सरकार

तामसालिङ खबर
४ श्रावण २०७८, सोमबार ०६:१४

साउन, हेटौडा – केन्द्रीय तहमा फेरिएको राजनीतिक समीकरणले बागमती प्रदेशमा समेत तरङ्ग पैदा गरेको छ । सर्वोच्च अदालतले दोस्रो पटक प्रतिनिधिसभा विघटन बदर गरी काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेदेखि नै अंक गणितीय हिसाबमा बागमती प्रदेश सरकारको समेत आयु नाप्ने काम भइरहेको छ ।

आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदै आफ्नो नेतृत्वको सरकार सुरक्षित गरेका छन् । उनलाई नेकपा एमालेकै सांसदहरुले समेत विश्वासको मत दिएका थिए ।

प्रधानमन्त्री देउवा नेतृत्वको सरकार सुरक्षित भएसँगै बागमती प्रदेशमा पनि सरकार परिवर्तनको लागि कसरत सुरु भएको छ । जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै गत पुस १० गते बागमती प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो ।

त्यसलगत्तै सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिने र नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रलाई साविककै अवस्थामा फर्काउने फैसला गरेपछि बागमती प्रदेशमा एमालेको माधव नेपाल समूहका सांसदहरुले पार्टी एकताको सन्देश प्रवाह गर्ने भन्दै मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिएर सरकारलाई सहयोग गर्न थाले ।

सोही अनुसार नेपाल समूहका सांसदहरुले बागमती प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रम र बजेट बहुमतले पारित गर्न भूमिका निर्वाह गरेका थिए । पछिल्लो पटक केन्द्रमा एमालेभित्र व्यापक अन्तरविरोध सिर्जना भई एमालेकै सांसदहरुले देउवा नेतृत्वको सरकार जोगाउन विश्वासको मत दिएपछि प्रदेश सरकार पनि परिवर्तनको सँघारमा पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*