बौद्ध समाजमा माछामासु : कति उचित र कति अनुचित

बसन्त महर्जन
२२ श्रावण २०७८, शुक्रबार ०७:५५

नेपाली बौद्ध समाज र गैर बौद्ध समाजमा पनि भोजनका विषयमा नजानिंदो पाराले एउटा मान्यता बस्न गएको पाइन्छ । त्यो मान्यता हो, बौद्धहरूले माछामासु खानुहुन्न, जसले खान्छ त्यो बौद्ध हुन्न वा बुद्ध धर्मलाई पूर्ण रुपमा अंगीकार गरिनसकेको अथवा विचलित बौद्ध हुन् । अर्थात् बौद्ध हुनु र नहुनु अथवा को कति स्तरको बौद्ध भनेर जोख्ने मापदण्ड नै माछामासु खानु र नखानुसँग सम्वन्धित गरेर हेरेको पाइन्छ । तर बौद्धहरूले दैनिक जीवनमा पालना गर्नु पर्ने आधारभूत पाँच वटा शीलमा माछामासु खानु हुन्छ वा खानु हुन्न भन्ने कुरा उल्लेख छैन ।

बरु प्राणी हिंसा गर्दिन वा गर्नु हुन्न भन्ने कुरा परेको छ । साथै सुरापान नगर्न पनि भनिएको छ । प्राणी हिंसा बिना माछामासु नपाइने भएका कारण भोजनमा माछामासु समावेश गर्नु हुन्न भन्ने मान्यता रहेको देखिन्छ । यस सम्वन्धमा यहाँ केही चर्चा गरिन्छ तर यस लेखको आसय वा उद्देश्य बौद्धहरूले माछामासु खाँदा हुन्छ, भन्ने जिकिर कदापि होइन । भोजनमा माछामासुको प्रसंग उप्काएर बरु बुद्ध धर्मको आसय के रहेछ भन्ने कुरामाथि संक्षेपमा चर्चा गर्नु यस लेखको मुख्य उद्देश्य हो ।

भोजनमा माछामासुको समावेश आफैमा एउटा विवादको विषय हो । लामो समयदेखि यसमा छलफल हुँदै आइरहेको पाइन्छ । माछामासुको प्रयोग अन्य कतिपय धार्मिक सम्प्रदायमा पनि समावेश गर्नु हुन्न भन्ने मान्यता राखिन्छ । अझ कतिपयमा त यसबाट पर नै बस्न र स्पर्शले नै पनि अपवित्र हुने मान्यता राखिन्छ । यही मान्यताका कारण ती सम्प्रदायसम्वद्ध समाजमा माछामासुको प्रयोग बन्द नै हुन्छ । त्याज्य नै हुन्छ । त्यस्तै कुनै धार्मिक समाजमा पशुवलीलाई प्राथमिकता दिइन्छ र भोजनमा माछामासुलाई समावेश गरिन्छ । प्राणीहरूको हत्या नगर्न जोड दिने बुद्ध धर्ममा बली प्रथाले प्रशय पाउने त कुरा नै रहेन ।

एक सच्चा बौद्ध प्राणी हिंसाबाट विरक्त नै हुन्छन् र त्यस्तो हिंसाकर्म आफूबाट नहोस् भन्ने कुरामा मात्रै सचेत हुन्न बरु अरुबाट पनि नहोस् भन्ने कामना गर्दै हिंसाकर्मलाई न्यूनिकरण गर्ने तर्फ लाग्छन् । यस्तो भएपछि माछामासु कहाँबाट आउँछन् त ? यसैलाई मध्यनजर गरेर माछामासु खानु हुन्न भन्ने मान्यता बस्न गएको देखिन्छ । आफू नमार्ने तर भीरबाट खसेर वा कालगतिले मरेको पशुको भने मासु खाने बौद्ध समाजहरू पनि छन् । र यिनै बौद्धहरूलाई देखाएर उपहास गर्नेहरू पनि पाइन्छ । प्राणी हिंसा आफू नगर्ने तर कालगतिमा वा दुर्घटनामा परेको पशुको मासु खाने प्रसंगलाई बुझ्न सक्ने हो भने बौद्ध समाजमा प्राणी हिंसाको अर्थ र भोजनमा माछामासुको स्थानका बारेमा बुझ्न मद्दत गर्दछ ।

प्राणी हिंसा किन गर्नु हुँदैन ? यस प्रश्नको जवाफमा धेरैले भन्ने गर्दछन्– अन्य प्राणीहरू पनि मानिस जस्तै जीव हो । जसरी मानिसलाई दुृःख कष्ट हुन्छ, उसलाई पनि दुःख कष्ट हुन्छ । विचरा मूक प्राणीले व्यक्त गर्न नसकेको मात्रै हो । सबै प्राणीलाई माया गर्नु पर्दछ तसर्थ पं्राणी हिंसा गर्नु हुँदैन । बौद्धहरूले पनि यो मान्यतालाई उत्तिकै अपनाएर यसलाई जीवनशैली नै बनाएको हुन्छ । बौद्धहरू ती प्राणीलाई आफूजस्तो जीवमात्रै मान्दैनन, बरु आफू समान जीव नै ठान्छन् । बुद्ध धर्मको अभ्यास पूर्व जन्म र पुनर्जन्ममा आधारित छ । मान्छेले जुन काम गर्दछ त्यसको परिणाम उसले भोग्नै पर्ने हुन्छ । राम्रो कामको परिणाम राम्रै हुन्छ र नराम्रो कामको परिणाम नराम्रो नै हुन्छ यसलाई तलमाथि कसैले पनि पार्न सक्दैन । कर्म भोग गर्ने क्रममा मान्छे मरेर गएपछि विभिन्न योनीमा जन्म लिन पुग्छन् र पुनः मान्छे नै भएर जन्मने हुन्छ । आफ्नो गति सुधार्ने एउटा राम्रो अवसर हो मान्छे को योनीमा जन्मनु ।

यो अवसर गुमाउँदा फेरि दुर्गतिहरूमा रुमलिनु पर्ने हुन्छ । राम्रो कर्म गर्नाले राम्रो योनीमा जन्मन पाउँछन् तर संचित पुण्य सकिएपछि त्यहाँबाट च्यूत त हुनु पर्दछ । एवं रीतले प्राणीहरू जन्म र मरणको चक्रमा घुमिराख्छन् । बुद्धले यही जन्म मरणका क्रमलाई दुःख भनेका हुन् । सामान्यतः जसलाई सुख भनिन्छ, त्यसको परिणाम अन्नतः दुःख नै हुन्छ । उदाहरणका लागि कसैसँग संयोग हुनु सुख हो जस्तो लागे पनि एक दिन वियोग हुनै पर्दछ, यो प्रकृतिको नियम हो र वियोग हुँदा पीडा भइहाल्छ । यस क्रममा पाप कर्म पनि गर्न पुग्छ । र पाप कर्मको भोग गर्दा पीडा हुन जान्छ । बुद्ध धर्मको मूल ध्येय दुःख रुपी जन्ममरणको यो चक्रलाई नै समाप्त गर्नु हो । दुःखको जरा नै उखेल्नु हो । मुहान नै सुकाइदिनु हो । यो भवसागरबाट आफू मुक्त हुनुको साथसाथै मुक्तिका लागि अरुलाई पनि सघाउनु नै बुद्ध धर्मको सर्वोच्च आदर्श र लक्ष्य हो ।

यो भवसागर कति विशाल छ, यो लेखको उद्देश्य त्यसमाथि छलफल गर्नु होइन । तर यस भवसागरमा मान्छेहरू मात्रै छन् भन्ने भन्ने मान्यता राख्नु हुन्न । यसमा मान्छेलगायत साना साना जीवजन्तु मात्रै होइन, देवलोकलगायत अनेक लोक छन् जुन साधारणतः देख्न सकिन्न । यी सबै लोकहरूमा बस्ने सबै मान्छे जस्तै सत्व प्राणी हुन् । मान्छेले गर्ने पाप र पुष्यको आधारमा निर्धारण हुने हो बुद्ध धर्मले यही मान्यता राख्दछ । यस अवस्थामा ध्यानमा राख्नु पर्ने कुरा हो– कुनै बेला हामी पनि ती लोकहरूमा कर्म भोग गरेर मान्छेका रुपमा आएका हौं र पुनः पुण्य संचयको आधारमा तिनै लोकहरूमा वा पृथ्वीमा नै जन्म लिन्छौं ।

हामी हाम्रा आफन्त तथा मित्रजनलाई अहिले सम्झना गरिरहेका छौं जो कारणवश दिवंगत भइसकेका छन् । दिवंगत ती बन्धुवान्धव अहिले चराचुरुङ्गी, पशु, मान्छे नै अथवा कुनै योनीमा जन्म लिएर हाम्रै अगाडि आइरहेको हुन सक्छ । कुनै बेला आफ्नै इष्टमित्रका रुपमा रहेका मात्रै हित कामना नगरी अन्यको पनि हितकामना गर्नु वा उनीहरूको सुगतिका लागि सोच्नु बुद्ध धर्मको उद्देश्य भएका कारण कसैको पनि हत्या नगर्न भनिएको हो ।

मानव रुपमा हुँदाका हाम्रा इष्टमित्र आज अर्कै रुपमा हाम्रै अगाडि आइरहेका हुन सक्छन् र यो कुरा थाहा नपाएर हामी उसैको हत्याको कारण हुनसक्छौं । कथंकदाचित कसैको हत्या भयो भने त्यसको परिणाम हत्याराले कर्म विपाकको रुपमा यही जन्ममा वा अर्को कुनै जन्ममा भोग्नै पर्दछ ।

गौतम बुद्धको जीवन कालमा उनका अनुयायीहरूले माछामासुको भोजन गरेको प्रसंग अनेक ठाउँमा आएको पाइन्छ । अन्तिम समयमा चन्द कमारले दान गरेको भोजनमा सुृकर मद्दक भन्ने एक प्रकारको मासु समावेश थियो । सोही मासु खाएर बुद्धलाई सन्चो भएन र महापरिनिर्वाणको कारक बन्यो । कसैले दानमा दिएको वस्तु अस्वीकार नगर्न बुद्धले आफ्ना भिक्षुहरुलाई भन्ने गर्दछन् । बुद्ध र बौद्ध भिक्षुहरुलाई कस्तो भोजन दान गर्नु पर्दछ भन्ने कुरा चुन्द कमारलाई जानकारी थिएन । बुद्धसँगको पहिलो सम्पर्क यही थियो । आफ्नो गाउँ ठाउँमा बुद्ध आउँदा श्रद्धाले भोजनका लागि आमन्त्रण गरेका थिए । उनले पनि भोजन दानमा मासुको पनि समावेश राखेका थिए, श्रद्धाले ओतप्रोत भई स्वादिष्ट भोजन दान गर्ने पवित्र मनसायले । र, बुद्धले सो भोजन वृद्धअवस्थाका कारणले पनि हुन सक्छ, पचाउन सकेनन् ।

भोजनमा मासुको प्रयोगमा बुद्धले नै पनि स्वीकृति दिएको प्रसंग पनि पाइन्छ । एक पल्ट बुद्ध आफ्नो भिक्षुहरूलाई लिएर कतै जाँदै थिए । त्यहाँ भोजनको अभाव भयो । त्यही बेला बाटोमा एउटा मरेको पशुमाथि आँखा प¥यो । उक्त पशुको मासु पकाएर खान बुद्धले अनुमति दिए । त्यस्तै अर्को पल्ट पनि त्यस्तै भयो, भोजनको अभाव । भोक र थकानले भिक्षुहरूलाई गाह्रो भइरहेको थियो ।

मृत पशुको मासु खान पहिले बुद्धले नै स्वीकृति दिएको सम्झेर केही भिक्षुको मनमा लाग्यो, एउटा पशु मरिदिए हुन्थ्यो । यस्तो कुरा सोच्ने भिक्षुहरूको मनसाय बुझेर बुद्धले तत्कालै आपत्ती जनाए । यस्तो सोच्नु मात्र पनि पाप हो, यस्तो पापको पनि कर्म विपाक भोग्नु पर्ने हुन्छ । यस्तो सोचले चित्तलाई बिगार्ने गर्दछ । यी दुई प्रसंगमा बुद्धको भनाइ वा दृष्टिकोणबाट बुझ्न सकिन्छ, प्राणी हिंसा भनेको के हो र भोजनमा माछामासुको के अर्थ रहन्छ ।

बुद्धले चित्त वा मनलाई बडो महत्व दिएका छन् । बुद्धकै धर्मउपदेशहरूको आधारमा विभिन्न दार्शनिक सम्प्रदायहरूको विकास हुने क्रममा विज्ञानवाद देखा प¥यो । आचार्य नागार्जुनले शून्यवादलार्इृ अगाडि सारेर सर्वशून्य भनेका थिए भने आचार्य मैत्रयनाथ, आचार्य असंग र आचार्य बसुबन्धुले विज्ञानवादको विकास गरे । उनीहरूकाअनुसार सबै शून्य छैन, विज्ञान एउटा मात्र बाँकी रहन्छ । आचार्य बसुबन्धुले त चित्त मात्रता सिद्धि ग्रन्थ नै लेखे । चित्त सुद्धि नै प्रमुख काम हो र चित्तसुद्धि गरेर मात्रै निर्वाण प्राप्त गर्न सकिन्छ ।

भोजनमा माछामासुको प्रयोगले स्वास्थ्यलाई फाइदा वा बेफाइदा के गर्दछ अर्थात् शाकाहारी र मांशाहारीको छलफल आफ्नो ठाउँमा छ । बुद्ध र बौद्ध समाज प्रायशः शाकाहारी भोजनमा जोड दिन्छन् । शाकाहारी भोजनमा जोड दिने मात्रै नभएर हत्याहिंसाको कर्मबाट आफूलाई अलग्ग राख्नुका साथै अरुलाई पनि त्यस्तै कर्म गर्न सिकाउने भएका कारण मांशाहारी भोजन गर्नै हुन्न भन्ने मान्यता समाजमा रहेको पाइन्छ । तर आफ्नो भोजनका लागि भनेर पशुको हत्या नगर्नु र नगराउनु भन्ने उपदेशहरुले यस विषयमा स्पष्ट पार्दछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*