काठमाण्डौको फोहोरले भरियो सिसडोल
भदौ, काठमाण्डौ – लामो समयदेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन हुँदै आएको सिसडोल भरिएपछि पुनः समस्या भएको छ । गत सोमबार नै काठमाडौँ महानगरपालिकाले सूचना जारी गर्दै एक हप्ता फोहर घरबाहिर ननिकाल्न नागरिकलाई आग्रह गरेको थियो ।
महानगरपालिकाका अनुसार निरन्तर पानी परिरहेकाले अझै केही दिन फोहर व्यवस्थापनमा समस्या हुनसक्ने छ । “विगत चार दिनदेखि साविकझै फोहर उठ्न सकेको छैन, वर्षाको समय भएकाले अन्य समयमा भन्दा बढी फोहर उत्पादन हुने गर्दछ, सकेसम्म कम फोहर निकाल्ले र त्यसलाई बाहिर सडकमा नभई घरमा नै व्यवस्थापन गर्न नागरिकलाई अनुरोध गर्दछु”, महानगरका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले भने।
सामान्य समयमा हरेक दिन २०० गाडीले फोहर व्यवस्थापन गर्दै आएका थिए । अहिले ५० गाडी पनि जान समस्या रहेको प्रमुख श्रेष्ठले जानकारी दिए । एकातिर सिसडोल भरिएको छ भने अर्कातिर ल्याण्डफिल साइट जाने सडक केही दिनदेखि परेको अविरल वर्षाका कारणले बिग्रेकाले मर्मतका लागि केही दिन लाग्ने महानगरले जनाएको छ ।
यसरी निरन्तर फोहर नउठ्दा काठमाडौँका सडक किनारामा जताततै फोहर हुँदा दुगन्र्ध फैलिएको छ । महानगरले दुई वर्षका लागि भन्दै विगत १३ वर्षदेखि काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर नुवाकोटको ककनी गाउँपालिका–२ स्थित सिसडोलमा रहेको ल्याण्डफिल साइटमा विसर्जन गर्दै आएको छ ।






