आदिवासी चलचित्र अवार्डमा नेवाः चलचित्र ‘जा मन गुभाजु’ उत्कृष्ट

तामसालिङ खबर
८ भाद्र २०७८, मंगलवार ०९:४७

भदौं, न्युयोर्क – नेपाल आदिवासी चलचित्र (निफ्फ) अवार्डमा नेवाः भाषाको चलचित्र ‘जा मन गुभाजु’ उत्कृष्ट भएको छ । अमेरिकाको न्युयोर्कमा दुई दिनसम्म भएको तेस्रो नेपाल आदिवासी चलचित्र महोत्सवमा सहभागी विभिन्न भाषाका सात वटा चलचित्र मध्ये नेवाः भाषाको चलचित्र गुभाजुले आदिवासी चलचित्र अवार्ड जितेको हो ।

नेवाः चलचित्र गुभाजुले उत्कृष्ट अवार्ड सँगै उत्कृष्ट पटकथा र उत्कृष्ट अभिनेताको पुरस्कार पनि हात पारेको छ । पुरस्कृत नेवाः चलचित्रले अवार्ड सहित १ हजार १ सय ११ डलर नगद पुरस्कार पनि जितेको छ ।

आइतबार राती अबेर सम्म सञ्चालन भएको अवार्ड वितरण समारोहमा उत्कृष्ट चलचित्र सहित विभिन्न १० विधामा पुरस्कार वितरण गरेको थियो । सो क्रममा उत्कृष्ट नायिकामा मगर भाषाको चलचित्र ट्याङचालककी नायिका तिला मगरले अवार्ड जितेकी छिन भने लिम्बु जातिको के चलचित्रले उत्कृष्ट कथा, ह्योल्मो जातिको मेटोकले उत्कृष्ट छायाङ्कन र दर्शक रोजाइको पुरस्कार जितेको छ ।

यसै गरी तामाङ जातिको प्रङ्ना चलचित्रलाई उत्कृष्ट भेषभुषा पुरस्कार र गुरुङ जातिको चलचित्र मि होर्वै टले उत्कृष्ट सङ्गीत र उत्कृष्ट निर्देशनको अवार्ड हात पारेका छन् । नेपाल आदिवासी जनजाति महासघ अमेरिकाका अध्यक्ष लोक चेम्जोङ र न्युयोर्क स्थित नेपाली महावाणिज्य दूत विष्णुप्रसाद गौतमले संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गरेका थिए ।

२७ औँ विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासघ (फिप्ना) अमेरिकाले आदिवासी जनजातिको भाषा, भेसभुसा, संस्कृतिको संरक्षण र संवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले महोत्सव आयोजना गरेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*