काबुल विस्फोटमा १३ अमेरिकी सेनासहित १०३ को मृत्यु
भदौं, काठमाडौं – अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलको बाहिर भएको बम विस्फोटमा परेर कम्तीमा १ सय ३ जनाको ज्यान गएको छ ।
बिहीबार आक्रमणकारीहरुले विमानस्थल छिर्ने मूल द्वारको बाहिरपट्टि विस्फोट गराएका थिए । काबुल तालिबानीहरुले कब्जामा लिएपछि आफ्नो देश फर्किनका लागि विमानस्थलमा जम्मा भएका हजारौँको भीडलाई लक्षित गरेर उनीहरुले विस्फोट गराएका थिए । आक्रमणमा परेर मृत्यु भएकामध्ये १३ जना अमेरिकी सेना रहेका छन् ।
अफगानिस्तानमा रहेको अमेरिकी सैन्य समूहका प्रमुख कमान्डरले आफ्ना १३ सेनाको पनि मृत्यु भएको पुष्टि गर्नुभएको छ । उहाँले सो आक्रमणमा मारिएका १३ जना अमेरिकी सैन्य सेवाका सदस्य रहेको बताउनुभयो ।
आक्रमणमा परी बिहीबार रातिसम्म कम्तीमा पनि १०३ जनाको ज्यान गएको छ । त्यसमा परेर करिब एक सयजना घाइते भएका छन् । घाइते हुनेमा अरू १८ जना अमेरिकी सेना पनि रहेका छन् ।
बम विस्फोट भएपछि भागदौड भएको र त्यसमा परेर केही व्यक्तिको ज्यान गएको बताइएको छ । आफ्नो देश फर्किनका लागि विमास्थलमा जम्मा भएका विदेशी नागरिकलाई लक्षित गरेर विस्फोट गराइएको समाचारमा जनाइएको छ ।
काबुल विमानस्थलमा हजारौँको भीड लागेको समयमा आक्रमणकारीहरुले बम विस्फोट गराएका हुन् । विमानस्थलबाहिर रहेको भीडभाडलाई लक्षित गरेर सो आक्रमण गराएको बताइएको छ ।
यसअघि बिहीबार मात्र अफगानिस्तानको काबुल विमानस्थलमा आक्रमणको उच्च जोखिम रहेको अमेरिका र बेलायतले जनाएका थिए । यी दुई देशले काबुल विमानस्थलमा आफ्ना नागरिकलाई नजानु भन्दै बुधबारदेखि नै सूचना जारी गरेका थिए । अमेरिका र बेलायतले विमानस्थलमा पुगेको भए पनि त्यहाँबाट फर्किन भन्दै आफ्ना नागरिकहरुका नाममा सूचना जारी गरेका छन् ।
सूचनामा विमानस्थलमा पुगेकालाई पनि त्यहाँ नबस्न र अन्यत्र कतै जान भनिएको थियो । अहिले पनि काबुल विमानस्थलमा कम्तीमा दश हजार विदेशी नागरिक रहेका छन् । आफ्नो देश फर्किनका लागि विमानस्थलबाहिर र भित्र हजारौँ सर्वसाधारण बसेका छन् ।






