काठमाडौँमा प्रदेश प्रमुखको आवास सुविधा नलिने – यादव शर्मा
भदौं, हेटौँडा – बागमती प्रदेश प्रमुख यादव शर्माले प्रदेश सरकारका प्रमुखलाई काठमाडौँमा उपलब्ध गराइएको सुविधा नलिने बताउनु भएको छ ।
प्रदेश प्रमुख शर्माले काठमाडौँमा आफ्नै निवास भएकाले डाउनटाउन अपार्टमेन्टमा उपलब्ध गराइएको सम्पर्क कार्यालय प्रयोग नगर्ने घोषणा गर्नु भएको हो ।
शर्माले प्रदेश प्रमुखको कार्यालयका सचिवलाई सम्पर्क कार्यालय नराख्न भनिसक्नु भएको बताउनु भयो । उहाँले आफूसँग रहने सुरक्षाकर्मी र कर्मचारीलाई आफ्नै निवासमा दुई वटा कोठा दिएर राख्ने तर राज्यको सुविधा नचाहिने बताउनु भयो ।
शर्माले भन्नुभयो, ‘यस्तो सुविधा दुरुपयोग मात्र होइन, बदमासी पनि हो भन्ने लागेर सम्पर्क कार्यालयलाई निरन्तरता नदिने निर्णयमा पुगेँ ।’
प्रदेश प्रमुख शर्माले संविधान र कानुनअनुसार आफ्नो तोकिएको भूमिकामा क्रियाशील रहने बताउनु भयो ।






