अविरल बर्षाले काठमाण्डौका अधिकांश ठाउँ जलमग्न

तामसालिङ खबर
२१ भाद्र २०७८, सोमबार ०८:१९

भदौं, काठमाडौं – रातिदेखि परेको ठूलो वर्षाका कारण काठमाण्डौ उपत्यकाका धेरै ठाउँ जलमग्न भएका छन् ।

रातोपुल, कालोपुल, बल्खु लगायत खोलाको किनार क्षेत्रका करिडोर जलमग्न भएका छन् भने बागमती नदीमा आएको बाढीले बल्खुमा पार्किङमा राखेको ५, ६ वटा साना गाडी बगाएको प्रहरीले जनाएको छ । बल्खुको फलफूल तरकारी बजार पनि डुबानमा परेको छ ।

अहिले त्यहाँ सामान हटाउने काम भइरहेको प्रहरीले जनाएको छ । यस्तै, काठमाण्डौको टेकुमा रहेको परोपकार क्षेत्रको सुकुम्बासी बस्ती पनि डुबानमा परेको छ ।

प्रहरीका अनुुसार डुबानमा फसेका एक व्यक्तिको उद्धार गरिएको छ । त्यसैगरी, रामकोट, बाफल सीतापाइला, मुलपानी लगायत क्षेत्रमा पनि डुबानले बस्ती जोखिममा परेको छ ।

सडकका धेरै ठाउँ पनि जलमग्न भएका छन् । सडक खोलो र पोखरी जस्तो भएपछि पैदल हिँड्न र गाडी गुडाउन पनि समस्या भएको छ ।

काठमाण्डौसँग जोडिएको काभ्रेको बनेपा बजार पनि जलमग्न भएको छ । वर्षाका कारण त्यस क्षेत्रमा पर्ने अरनिको राजमार्ग जलमग्न भए पनि बनेपाको पुलबजारबाट गाडी डाइभर्सन गरिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*