आज हरितालिका तिज

तामसालिङ खबर
२४ भाद्र २०७८, बिहीबार ०८:३८

भदौ, काठमाडौ‌ – भाद्र शुक्ल तृतीया अर्थात् सनातन धर्मावलम्बी महिलाहरूको महान् पर्व तिज । उमामहेश्वरको व्रत तथा पूजा–आराधना गरी मनाइँदैछ। हिन्दू नारीहरू यो दिन बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्छन् ।

हिमालय पर्वत र मेनाकी पुत्री पार्वतीले भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी कठिन तपस्या गरेको र त्यसैको प्रभावस्वरूप महादेव पति पाएको पौराणिक कथन छ। यसरी व्रत बस्दा मनोकांक्षा सिद्ध हुने विश्वासमा महिलाहरू तिजको व्रत बस्छन् ।

विवाहिताहरूले आफ्ना पति छोराछोरीको सुस्वास्थ्यको कामना गर्ने र अविवाहिताहरूले असल पतिको कामनामा व्रत बस्ने भन्ने लौकिक चलन पनि छ। महिलाहरू आफ्नो पायक पर्ने शिवालयमा पुगी शिवपार्वतीको पूजा गर्छन्। सक्नेले दिनभर पानीसमेत नखाई व्रत बस्ने साँझ पौराणिक विधिले उमामहेश्वरको पूजा गर्ने, कथा सुन्ने गर्छन्।

भोलिपल्ट सबेरै लोापामुद्रालाई अर्घ्य दिएपछि तिजको व्रत पूर्ण भएको मानिन्छ। सामाजिक रूपमा पनि तिजको ठूलो महत्त्व छ। तिजका लागि माइतीले चेलिबेटीलाई निम्तो गर्ने, सम्भव भएसम्म सबै दिदीबहिनीहरू एकै थलोमा जम्मा हुने, अघिल्लो दिन बेलुकी मिठामसिनो (दर) खाने गर्छन्। तिजका दिन नाचगान गरी घरव्यवहारमा पाएका दुःखकष्टलाई गीतमा उतार्ने गर्छन्।

तिजमा गाइने विभिन्न ठाउँका भाका लोकसाहित्यका सम्पत्ति मानिने गरेका छन्। तिजका बेला सौभाग्यका सूचक राता वस्त्र तथा आभूषण लगाउने चलन छ। तर अचेल दर खाने नाममा एक महिनाअघिदेखि तडकभडक गर्ने, तिजको गीतमा उच्छृंखल शब्दको प्रयोग गर्ने र भड्किला पोशाक लगाउने चलन बढेको भन्दै संस्कृतिविद्हरू चिन्ता व्यक्त गर्छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*