तामाङ्ग भाषा सरकारी कामकाजको भाषाका लागि सिफारिस हुनु ठूलो उपलब्धि हो – भाषाविद् योन्जन

ताम्सालिङ खबर
२८ भाद्र २०७८, सोमबार ०८:१०

भदौं, काठमाण्डौ – भाषविद् अमृत योन्जन तामाङले तामाङ भाषाबारे भाषा आयोगले पर्याप्त र यथार्थपरक सूचना संकलन गर्न नसकेको प्रतिक्रिया दिनुभएको छ ।

भाषा आयोगले सरकारलाई बुझाएको प्रतिवेदनबारे धाराणा राख्दै भाषाविद् योन्जनले ‘भाषा विकासका लागि आवश्यक र आयोग आफैंले निर्धारण गरेको कतिपय सूचकलाई वेवास्ता गरेको’ प्रतिक्रिया दिनुभएको हो ।

सामाजिक संजाल फेसबुकमार्फत आफ्नो धारणा प्रस्तुत गर्दै भाषाविद् योन्जनले यसबारे सच्याउन आयोगलाई आग्रह गर्नुभएको छ । उहाँले प्रतिवेदनको सारंशको आधारमा यो प्रतिक्रिया दिएको भन्दै पूर्ण विवरण सार्वजनिक हुँदासम्म प्रष्ट भएर आउने आशा व्यक्त गर्नुभएको छ ।

भाषा आयोगले यही भदौ २१ गते तामाङ लगायत ११ भाषालाई प्रदेशगत सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्न सिफारिस सहित राष्ट्रपति र प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो ।

यसैगरी भाषविद् योन्जनले सम्पूर्ण तामाङ तथा मातृभाषाप्रेमीहरुलाई बधाई ज्ञापन गर्नुभएको छ । भाषा आयोगले तामाङ भाषालाई बागमती प्रदेशको सरकारी कामकाजको भाषाको रुपमा प्रयोगका लागि सिफारिस गरेको सन्दर्भलाई लिएर भाषाविद् योन्जनले तामाङ समुदायलाई बधाई तथा शुभकामना दिनुभएको हो ।

उहाँले तामाङ भाषालाई यो अवस्थासम्म ल्याई पुर्याउन भूमिका खेल्ने सम्बन्धित सबै र सरकारलाई प्रतिवेदनमार्फत सिफारिस गर्ने भाषा आयोगप्रति नमन प्रकट गर्नुभएको छ । ‘हाम्रो प्राज्ञिक भाषिक अभियान र आन्दोलनलाई प्रत्यक्ष वा परोक्ष रूपमा सघाउनु हुने सबैमा ‘फ्याफुल्ला’ टक्राउँदछु। भाषा आयोगप्रति पनि म नमन व्यक्त गर्दछु’ ।

योन्जनले उक्त सिफारिसलाई ‘निकै ठूलो उपलब्धि’ बताउँदै आयोगको सिफारिसबाट चरम खुशी मिलेको बताउनुभएको छ । ‘तामाङ भाषाको सन्दर्भमा यो निकै ठुलो उपलब्धि हो । चरम खुसीको यस अवसरमा एकजना भाषिक अभियन्ताको हैसियतले म सबै तामाङहरूमा बधाई ज्ञापन गर्दछु’ ।

भाषा आयोगको परिभाषा उदृद गर्दै योन्जनले “सरकारी कामकाजको भाषा भन्नाले राज्यले कानुनी मान्यता प्रदान गरेको र स्तरगत योजना भएको भाषा सम्झनु पर्ने” बताउनुभएको छ । उहाँले भाषाले सरकारी कामकाजको मान्यता प्राप्त गरेपछि व्यवस्थापिका, न्यायपालिका (अदालती कामकार्यवाही) र कार्यपालिका (प्रशासन, अभिलेखन र सेवा सम्प्रेशण)मा भाषाको प्रयोग विस्तार हुने बताउनुभयो ।

भाषिक मानव अधिकारलाई स्थानीय स्तरसम्म कार्यन्वयन गर्ने काम जटील र झन्झटिलो हुने भन्दै भाषाविद् योन्जनले त्यसलाई सफल पार्नका निम्ति सबै तामाङहरुलाई जोस, जाँगर र विवेगको बृद्धि गर्न पनि आग्रह गर्नु भएको छ । – ग्लोबल मिडियाबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*