गाई काटेको आरोपमा पक्राउ परेकालाई विनासर्त रिहा गर्न तामाङ मोर्चाको माग

ताम्सालिङ खबर
५ आश्विन २०७८, मंगलवार २३:५८

असोज, हेटौडा – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट एकीकृत तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालले मकवानपुरमा गाई काटेको आरोपमा प्रहरीले पक्राउ गरेका १० जनालाई विनासर्त रिहा गर्न माग गरेको छ ।

मोर्चाको केन्द्रिय संयोजक सूर्यमान दोङ (लालध्वज)ले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त माग गरेका हुन् । मोर्चाले पक्राउ गरेकोमा घोर निन्द गर्दै पक्राउ गरेका सबैलाई रिहा गर्न लालध्वजले माग गरेका छन् ।

संविधानमा नै उल्लेख भएको धर्मनिरपेक्ष मुलुकका स्वतन्त्रतापूर्वक बाँच्न पाउने नागरिकको अधिकार कुण्ठित हुनेगरी झुट्टा आरोपमा उनीहरुलाई पक्राउ गरिनु गैरकानुनी मात्रै होइन, नागरिक स्वतन्त्रताको अधिकारविरुद्धको कार्य समेत भएको जनाउँदै विज्ञप्तिमा कुनै पनि समुदायका नागरिकलाई लक्षित गरी अनेक बहाना देखाई फसाउने षड्यन्त्रका साथ पक्राउ गर्ने कार्य निन्दनीय रहेको उल्लेख छ ।

‘गाई काटेको आरोपमा मकवानपुर प्रहरीले १० जनालाई पक्राउ गरेको घटनाप्रति एकीकृत तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको गम्भिर ध्यानाकर्षण भएको छ । आइतबार साँझ मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर-११ कालिदमारका ३८ वर्षीय जनकबहादुर लो, सोही स्थानका ३५ वर्षीय राज लो, ४० वर्षीय रवीन्द्र लो, सिमाटार बस्ने ४५ वर्षीय राजकुमार घलान, ४८ वर्षीय प्रलादभक्त न्यासुर, च्याउच्याउ बस्ने १९ वर्षीय सोमार भोलन, ५० वर्षीया सञ्चमाया भोलन, १६ वर्षीय सन्देश विक, ४० वर्षीय सुनबहादुर तामाङ, ३६ वर्षीय फुलमाया थिङलाई प्रहरीले पक्राउ गरेको विषयको हाम्रो संगठन निन्दा गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ।

‘प्रहरीले विशेष सुचनाको आधारमा भन्दै ‘गाई काटेर भाग लगाउँदै गरेको अवस्थामा’ उनीहरुलाई पक्राउ गरिएको भन्ने नियोजित षड्यन्त्र गरी स्थानीयलाई फसाउन खोजिएको देखिएको छ । हाम्रो संगठनलाई प्राप्त सुचनाअनुसार पक्राउ गरी राखिएका टोलीले गाई काटिएको नभई मरेको गाईको व्यवस्थापन गर्न खोजेका थिए ।’

मोर्चाले झुट्टा आरोप लगाई लोकिप्रयता कमाउने नाममा स्थानीय नागरिकलाई पक्राउ गर्ने कार्यमा संलग्न प्रहरीलाई अविलम्ब छानबिनको दायरामा ल्याई आवश्यक कारबाही गर्न माग गर्दै यदि माग सुनुवाइ नभएमा देशव्यापी रुपमा कडाभन्दा कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ ।

बिज्ञप्ति हेर्नुहोस् –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*