गाई काटेको आरोपमा पक्राउ परेकाहरु विनाशर्त रिहाईको माग
असोज, हेटौडा – पूर्वी मकवानपुरको बकैया गाउँपालिकाबाट गाई काटेको आरोपमा पक्राउ परेका १० जना स्थानीयलाई विनाशर्त रिहा गर्न नेपाल तामाङ घेदुङ, वडा जनप्रतिनीधि, लगायत संघ संस्थाले माग गरेका छन् ।
बिहिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै उक्त संघसंस्थाका प्रतिनीधि एवम् सम्वद्ध स्थानीय परिवारका सदस्यहरुले गाई काटेको भनी झुटो आरोप लगाई उनीहरुलाई पक्राउ गरिएको र मरेको गाईलाई व्यवस्थापन गर्ने क्रममा आतंकित बनाई पक्राउ गर्ने काम भएको बताएका छन् ।
संकटकालमा जस्तै गाउँमा आतंक सिर्जना गराई झुटो आरोपमा निर्दोष १० जना स्थानीयलाई पक्राउ गरिएको भन्दै उनीहरु विनाशर्त रिहा हुनुपर्ने घटनाका प्रत्यक्षदर्शी बकैया–११ का शनि तामाङले पत्रकार सम्मेलनका क्रममा बताए । व्यापारीले गाडीमा ल्याएको गाईमध्ये एउटा गाईका खुट्टा भाँचेर उनीहरुले स्थानीय बगरमा छोडेर गएको र सोहि गाई मरेपछि पुर्ने व्यवस्थापन गर्ने क्रममा मरेको गाईलाई केहीले काटेर मासु खाना खोजेको र सोही क्रममा उनीहरु पक्राउ परेको उनले बताए ।

पक्राउका क्रममा प्रहरीले स्थानीयमाथि आतंक सिर्जना गराएको र हाल स्थानीयहरु उक्त घटनाका दिन भएको प्रहरी ज्यादतीबाट आतंकित बनेको अर्का स्थानीय घटनाका प्रत्यक्षदर्शी एकबहादुर थोकरले बताए ।
यस्तै, नेपाल तामाङ घेदुङ बागमती प्रदेश कमिटिका अध्यक्ष लिलाकुमार घलानले पक्राउ परेका बकैयाका निर्दोष १० जना स्थानीयहरु विनाशर्त तत्काल रिहा गरिनुपर्ने अन्यथा संगठन सबैपक्षसँग समन्वय गरी कडा आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
सामान्य विषयमा राज्यबाट यसअघिदेखि नै आदिवासी जनजाति समुदायमाथि विभेद, दमन, उत्पीडन, राज्यआतंक फैलाउने काम हुँदै आएको उनको भनाई छ । यसका विरुद्ध नेपाल तामाङ घेदुङले विगतदेखि नै निरन्तर आन्दोलन गर्दै आइरहेको घलानले बताए ।
कार्यक्रममा बकैया-५ का वडा अध्यक्ष शेरमान घलानले मरेको गाईलाई पुर्ने व्यवस्थापनका क्रममा केहीले मासु खाना खोज्दा स्थानीयमाथि आतंक सिर्जना गराई निर्दोषहरुलाई पक्राउ गरेकोमा विनाशर्त तत्काल रिहा हुनेपर्ने बताए ।
आइतबार सो आरोपमा बकैया गाउँपालिका –११ कालिदमारका ३८ वर्षीय जनकबहादुर लो, सोहि स्थानका ३५ वर्षीय राज लो, ४० वर्षीय रविन्द्र लो, सिमाटार बस्ने ३५ वर्षीय राजकुमार घलान, ४८ वर्षीय प्रल्हादभक्त न्यासुर, च्याउँच्याउँ बस्ने १९ वर्षीय सोमार भ्लोन, १६ वर्षीय सन्देश विक, ४० वर्षीय सुनबहादुर तामाङ, ३६ वर्षीय फुलमाया थिङ, ५० वर्षीय सञ्चमाया भ्लोन पक्राउ परेका थिए ।
पत्रकार सम्मेलनमा नेपाल तामाङ घेदुङ बागमती प्रदेश कमिटिका सदस्य ठूलीमाया मोक्तान, बागमती गाउँपालिका कमिटि अध्यक्ष निरु थिङ, बकैया – ६ कमिटि अध्यक्ष धनबहादुर लुङबा, गौतबुद्ध पर्यटन पार्क बकैयाका अध्यक्ष तारा भोम्जनलगायत उक्त घटनामा सम्वद्ध परिवारका सदस्य एवम् स्थानीयको उपस्थिति थियो ।
=======================






