दुइ पटक स्थगित भएको घेदुङको महाधिवेशन पुन: तयारी थाल्यो

ताम्सालिङ खबर
१२ आश्विन २०७८, मंगलवार ०९:४८

असोज, काठमाडौं – कोरोना भाईरस (कोभिड-१९) को कारण नेपाल तामाङ घेदुङले दुईपटक स्थगित गरिएको नवौं संघीय महाधिवेशनको तयारी थालेको छ । घेदुङको संघीय सभाहल चुच्चेपाटीमा आइतबार बसेको २९ औं सचिवालय बैठकले महाधिबेशनको तयारी थाल्ने निर्णय गरेको हो ।

कोभिडको कारण महाधिवेशन दुईपटक स्थगित गर्नुपरेको र कोरोनाको जोखिम कायमै रहेको सन्दर्भमा घेदुङले भिन्न मोडेलबाट महाधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ । घेदुङको संशोधित विधान र प्रतिवेदन प्रदेश स्तरमा छलफल गराई सुझाव संकलन गरिसकेपछि जुम भर्चुअल विधिबाट पास गर्ने र एकडेड महिनाको समयावधि तोकेर नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाउने गरी घेदुङले सर्कुलर पठाएको छ ।

यसको लागि घेदुङले आगामी मंसिर १७ गते जुम भर्चुअल विधिबाट संघीय कार्य समितिको बैठक डाक्ने निर्णय गरेको छ । संघीय कार्य समितिको बैठकबाट सचिवालयको प्रस्ताव अनुमोदन भएपछि मात्र महाधिवेशनको प्रक्रिया अघि बढ्ने महासचिव बाबु घिसिङले बताए ।

यसअघि दुईपटक चैतमा महाधिवेशन तोकेको घेदुङले दुवै वर्ष चैत महिनामा नै कोरोनाको संक्रमण बढेको कारण अन्तिम आवरमा महाधिवेशन स्थगित गरेको थियो ।

सचिवालयले पास गरेको मोडालिटीलाई संघीय कार्यसमितिले अनुमोदन गरेमा पुषभित्रमा विधान र प्रतिवेदन पास गर्छौ, महासचिव घिसिङले भने-यसो हुँदा माघमा सोनाम ल्होछार पर्व पर्ने हुँदा फागुनको दोस्रो साता सम्ममा महाधिवेशन सम्पन्न गर्न सक्छौ । यसो हुँदा कोरोनाको तेस्रो भेरियन्टको संक्रमण बढ्यो भनेपनि फरक नपर्ने घेदुङले दाबी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*