चूडामणि शर्मा ५० लाख धरौटी बुझाएर रिहा
असोज, काठमाण्डौ – तत्कालीन कर फर्छ्यौट आयोगका सदस्य-सचिव चूडामणि शर्मालाई विशेष अदालतले ५० लाख धरौटीमा छाड्न आदेश गरेको छ ।
‘उपस्थित हुने निवेदन’ हालेर अदालतमा हाजिर भएका शर्मालाई विशेष अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयले धरौटीमा रिहा गर्न आदेश गरेका हुन् । धरौटी बुझाएर उनी छुटेका छन् ।
कर फर्छ्यौट आयोगले व्यवसायीहरुलाई जथाभावी कर छुट दिएर राज्यकोषमा १ अर्ब ३३ लाख २० हजार ५८५ रुपैयाँ घाटा लगाएको भन्दै अख्तियारले उनिविरुद्ध मुद्दा दायर गरेको थियो ।
असार ९ मा आयोगले शर्मा सहित तत्कालिन आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रकाश ढकाललाई पनि विपक्षी बनाएर मुद्धा दायर गरेको थियो ।
उनीहरुले कर फर्छ्यौट आयोग ऐन-२०३३ अनुसार राम्रो नियत नराखी गलत नियतले काम गरेको अख्तियारले आफ्नो अभियोग पत्रमा जिकिर गरेको छ ।






