काभ्रेमा ‘स्मार्ट लकडाउन’ : चाडपर्वमा भीडभाड नगर्न आग्रह

तामसालिङ खबर
२६ आश्विन २०७८, मंगलवार ११:३१

असोज, बनेपा – जिल्ला प्रशासन कार्यालयले आजदेखि जिल्लाभित्र अनिश्चितकालीन ‘स्मार्ट लकडाउन’ थप गर्दै चाडपर्वमा भीडभाड नगर्न आदेश जारी गरेको छ ।

जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसिएमसी) को बैठकले समुदायमा सङ्क्रमणदर घटिरहेको तथा साप्ताहिकरूपमा मृत्युदर घटेको अवस्थामा काभ्रेमा ‘एल्लो–जोन’मा परेकाले स्मार्ट लकडाउन केही खुकुलो पार्दै निषेधाज्ञालाई थपिएको जनाएको छ ।

निषेधाज्ञा गए राति १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि भनिएको छ । चाडपर्वमा बजारमा भीडभाड नगर्न, हिँडडुल गर्दा तथा भेला, क्लब, पार्टी प्यालेस, स्वीमिङ पुल, ब्यूटीपार्लर, जिमखाना आदि सञ्चालन गर्दा स्वास्थ्य–सुरक्षा एवं सामाजिक दूरी कायम गर्नुपर्ने, हाट, मेला, जात्रा महोत्सवमा भीडभाड कम गर्ने तथा निर्धारित जनस्वास्थ्यका मापदण्ड अपनाउन जारी आदेशमा उल्लेख गरिएको छ ।

साथै गोष्ठी, सेमिनार, समीक्षा, प्रशिक्षणजस्ता क्रियाकलाप सकेसम्म भर्चुअल माध्यमबाट सञ्चालन गर्नुपर्ने, सार्वनजिक यातायातका साधानमा कूल सिट क्षमताभन्दा बढी यात्रु नबोक्न, विकास–निर्माणका सामग्री ढुवानी जिल्लाभित्र साँझ ७ देखि बिहान ६ बजेसम्म तथा जिल्ला बाहिर राति ९ देखि बिहान ५ बजेसम्म मात्रै गर्ने आदेश जारी गरिएको   छ । आदेश अवज्ञा गर्ने जो–कोहीलाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८, सङ्क्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार सजाय हुने जनाइएको छ ।

यसैबीच जिल्लाको चार गाउँपालिका कोरोना सङ्क्रमणमुक्त भएका छन् भने पछिल्लो केही दिनदेखि सङ्क्रमणमुक्त हुनेको सङ्ख्या भने बढिरहेको केन्द्रको तथ्याङ्कले देखाएको छ ।

कोरोना सङ्क्रमणमुक्त हुनेमा चौँरीदेउराली, रोशी, महाभारत र खानीखोला गाउँपालिका छन् । तेमालमा एक, मण्डनदेउपुर नगरमा दुई र बेथानचोक गाउँपालिकामा तीन सङ्क्रमित रहेका छन् । केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा चारमा कोरोना सङ्क्रमण देखिएको छ भने १७ सङ्क्रमणमुक्त भएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*