६ महिना पछि खुल्यो ड्राइभिङ लाइसेन्सको आवेदन
कार्तिक, काठमाण्डौ – ६ महिनापछि नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को आवेदन खुलेको छ ।
गत वैशाख १६ गतेदेखि महामारीको कारण देखाउँदै बन्द गरेको आवेदन प्रणाली सोमबमार रातिबाट खुलेको यातायात व्यवस्था विभागले जनाएको छ ।
विभागगका अनुसार सोमबमार रातिबाट आवेदन प्रणाली खुला भएको र अब नियमित रुपमा फारम भर्न सकिने छ । कोरोनाको कारण देखाएर लामो समय आवेदन रोकेका कारण नयाँ चालकहरु समस्यामा थिए ।
अब दैनिक रुपमा कार्यालयको कोटा निर्धारण गरेर दैनिक रुपमै आवेदन लिन थालिएको छ । कार्यालयहरुले आफ्नो क्षमता अनुसार कोटा तोकेर आवेदन खुलाएका छन् ।
नयाँ आवेदन दिनेहरुले अब विभागले ल्याएको अंकभार प्रणालीअनुसार परीक्षा दिनेछन् । लिखित परीक्षामा अब ४-४ नम्बरका २५ प्रश्न सोध्ने व्यवस्था गरिएको छ ।
ती प्रश्नको अंकभार १०० नम्बरको हुनेछ । नयाँ व्यवस्था अनुसार लिखित परीक्षामा ६० अंक ल्याउनुपर्नेछ । नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि ५०० वटा वस्तुगत प्रश्नको संग्रह सार्वजनिक गरेको छ । त्यसभित्रैबाट प्रश्न सोधिने छ ।






