तीन जना पत्रकारलाई काठमाण्डौ तामाङ मिडिया अवार्ड

ताम्सालिङ खबर
२५ कार्तिक २०७८, बिहीबार ०७:४९

कार्तिक, काठमाडौं – तामाङ पत्रकार संघ काठमाडौं शाखाले तीन जना तामाङ पत्रकारलाई सम्मान गरेको छ । तेस्रो जिल्ला अधिवेशनको अवसर पारेर तामाङ समुदायमा सक्रिय तीन जनालाई ‘काठमाडौं तामाङ मिडिया अवार्ड’बाट सम्मान गरेको हो ।

अवार्डबाट सम्मानित हुनेहरुमा कान्तिपुर दैनिककी सुशीला तामाङ, तामसालिङ खबर डटकमका दिलबहादुर लामा र रेडियो मिर्मिरेका विष्णु दोङ रहेका छन् । उनीहरुलाई अवार्ड सहित प्रतिव्यक्ति ७ हजार रुपैयाँ नगद प्रदान गरिएको छ ।

पत्रकारिता मार्फत तामाङ भाषा, संस्कृति, इतिहास र मुद्दालाई उजागर गरेर तामाङ समुदायमा योगदान पुर्‍याएकाले संघको तेस्रो जिल्ला अधिवेशनमा अवार्ड वितरण गरिएको तामाङ पत्रकार संघ काठमाडौंका निवर्तमान अध्यक्ष युनिकरक्षे घ्लानले बताए ।

सोही अवसरमा संघका पूर्व केन्द्रीय अध्यक्षहरू रवीन्द्र ग्याबक, दिपेन्द्र लामा, जगतमान दोङ तामाङ र वर्तमान अध्यक्ष विष्णु मोक्तान तामाङलाई सम्मान गरिएको थियो । ग्याबक नेतृत्वमा २०६० तामाङ सञ्चार समूह स्थापना भएको थियो ।

समूहको पाँचौं महाधिवेशनपछि भने ‘तामाङ पत्रकार संघ’को रूपमा स्थापित भएको थियो ।

त्यस्तै, २०५१ साल भदौ १ गते रेडियो नेपालको क्षेत्रीय प्रसारणबाट पहिलो पटक तामाङ भाषाको समाचार (साङ्ग्युर) सम्पादन एवं वाचन गर्ने भाषाविद् अमृत योञ्जन तामाङ‚ सञ्चारकर्मी ध्यानबहादुर मोक्तान र रमिता लामालाई सम्मान गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*