एमाले महाधिवेशनकाे उद्घाटनमा प्रचण्ड नजाने
मंसिर, काठमाण्डौ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार चितवनमा उद्घाटन हुने प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को महाधिवेशनको उद्घाटनमा सहभागी नहुने भएका छन् ।
अन्तै पूर्वनिर्धारित कार्यक्रम भएकाले प्रचण्ड शुक्रबार चितवन जान नसक्ने भएकाे माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले भने, ‘भोलि प्रचण्ड कमरेड र मेरो अन्तै कार्यक्रम छ। पूर्वनिर्धारित कार्यक्रम भएकाले हामी जान पाउँदैनौं।’
श्रेष्ठले पार्टीको प्रतिनिधि बनेर कोही नेता जानसक्ने बताए । प्रचण्ड भोलि काभ्रेका दुई कार्यक्रममा सहभागी हुने जनाइएकाे छ ।महाधिवेशनको उद्घाटनमा सहभागी हुन केही दिनअघि एमाले नेता राजन भट्टराईले प्रचण्ड निवास खुमलटार पुगेर उनलाई निम्तो दिएका थिए।
चितवन प्रचण्डको गृहजिल्ला हो । भरतपुरमा उनकी छोरी रेनु दाहाल महानगरकी मेयर छन् । एमालेको महाधिवेशन उद्घाटनमा प्रचण्ड जान्छन् कि जाँदैनन् भन्ने आमचासो थियो ।
सत्तारूढ नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा भने उद्घाटन कार्यक्रममा सहभागी हुन आज हेलिकप्टरमा चितवन जाँदैछन् । एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भने महाधिवेशनको निम्तो नै छैन ।






