आम जनताले लोकप्रिय नेता छान्ने ‘मतदान डटकम’ संचालन

तामसालिङ खबर
११ मंसिर २०७८, शनिबार १६:४०

मंसिर, काठमाडौंमिडिया एकेडेमी नेपालको अग्रसरतामा राजनीतिक विषयमा जनताको धारणा डिजिटल रुपमा संकलन गर्नको लागि मतदान डटकम अभियान सञ्चालनमा ल्याइएको छ । मतदान डटकम आम जनताले विश्वको कुनै पनि देशमा रहेर विभिन्न पार्टीका नेतालाई भोट गर्ने एउटा प्लेटफर्म हो ।

हाल देशका प्रमुख राजनीतिक दलहरूको महाधिवेशन भइरहेको बेला पार्टी कार्यकर्ताले चुन्ने नेता जो भएपनि आम जनताले को नेता चुनेका छन् भनेर थाहा पाउनको लागि यो मतदान डटकमको सुरुवात गरेको अभियानका संस्थापक अध्यक्ष डम्बर साहुले बताए ।

‘अमेरिका जस्ता ठूला देशहरूमा चुनावको समयमा आम जनताको धारणा के छ भनेर तथा जनताको बीचमा लोकप्रिय नेता को छ भनेर थाहा पाउनको लागि यस्तो डिजिटल प्लेटफर्ममा जनताको मतदान लिने गरिन्छ,’ उनले भने, ‘नेपालमा पनि यस किसिमको मतदानलाई अभ्यासमा ल्याउनुपर्ने धारणा सहित हामीले यो अभियानको सुरुवात गरेका हौँ ।’

यो मतदानले वास्तविक चुनावको परिणाममा योगदान नगर्ने भएपनि पार्टी कार्यकर्ता बाहेक जनताको धारणा के छ भनेर थाहा पाउने र पार्टीहरूलाई पनि नैतिक दबाब पर्ने उनले बताए । हाल यो अभियान अन्तर्गत नेकपा एमालेको महाधिवेशनको अवसरमा पार्टी अन्तर्गतका नेताहरूको मतदान सुरु गरिएको छ ।

यसपछि लगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली काँग्रेस र नेकपा माओवादीको महाधिवेशनको बेलामा पनि यसरी नेताहरूको लागि मतदान लिइने उनले बताए । इच्छुक व्यक्तिले मतदान डटकमको साइटमा क्लिक गरेपछि पार्टीका शीर्ष नेताहरूको फोटो सहितको अप्सनमा भोट गर्न पाउँछन् ।

आफूलाई राम्रो लाग्ने नेताको फोटोमा क्लिक गरेर निःशुल्क भोट गर्न सकिन्छ । पार्टीगत लगायत अब आउने स्थानीय चुनावको लागि पनि निर्वाचन आयोगसँग सहकार्य गरेर अगाडि बढ्नको लागि आयोगसँग छलफल भइरहेको साहुले बताए ।

‘विश्व अब डिजिटल युगमा गइसकेको छ । जनताले आफू जहाँ भए पनि आफ्नो नेता छनौट गर्न पाउनुपर्छ भन्ने हाम्रो धारणा हो । यस किसिमको अभ्यास औपचारिक चुनावमा नै प्रयोग हुनुपर्छ भन्ने हाम्रो विचार हो,’ उनले थपे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*