पत्रकार अधिकारीको पुस्तक ‘मकवानपुरमा मिडिया’ विमोचन
मंसिर, हेटौंडा – पत्रकार गिरिजा अधिकारीद्वारा लिखित ‘मकवानपुरमा मिडिया’ नामक पुस्तक बिहीवार हेटौंडामा एक कार्यक्रमका बिच विमोचन भएको छ ।
मकवानपुरको पत्रकारितालाई पृष्ठभूमिकाल, साप्ताहिक पत्रिकाको विकासकाल, दैनिक पत्रिकाको विकासकाल, रेडियोको विकासकाल, टेलिभिजनको विकासकाल र अनलाइनको विकासकालमा विभाजन गरी पत्रकारिताको इतिहास लेखिएको उक्त पुस्तकको विमोचन भएको हो ।
पुस्तकमा हालसम्म पत्रकार महासंघ मकवानपुरको नेतृत्व सम्हालेका अध्यक्षहरुको अनुभव, अग्रज पत्रकारहरुको अनुभव, मकवानपुरबाट पत्रकारिता सुरु गरी हाल मकवानपुर बाहिर रही पत्रकारिता गरिरहेका व्यक्तित्वहरुको विषय पुस्तकमा समेटिएको लेखक अधिकारीले बताए ।
त्यस्तै, बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले पत्रकारिता राजनीतिक दलको छायाँ नबनी सत्यतथ्य र निश्पक्षतामा आधारित हुनुपर्ने बताएका छन् । पत्रकार गिरिजा अधिकारीद्वारा लिखित ‘मकवानपुरमा मिडिया’ पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले पत्रकारहरुले पेशा प्रति प्रतिवद्ध भई देश र जनताप्रति जवाफदेही बन्नुपर्ने बताएका हुन् ।
उनले पत्रकारिता क्षेत्रलाई दलगत स्वार्थभन्दा माथि उठाउनुपर्ने बताउँदै प्रेस स्वतन्त्रताको लागि पत्रकारहरुले आफ्नो व्यक्तिगत स्वार्थलाई पनि त्यागेर प्रजातन्त्रको सम्बद्र्धन र राष्ट्रियताको जगेर्णा गर्न पत्रकारिता क्षेत्रको विश्वसनीयतालाई जनतासामु पुर्याउन आग्रह गरे ।
उनले पत्रकारिता राजनीतिक दलको छायाँ नबनी जनप्रतिनिधि तथा सरकारका उच्च पदस्थ अधिकृतहरुले गरेका अनियमित कार्यको लागि सत्यतथ्य समाचार सार्वजनिक गर्न आफुमा दृढता हुनुपर्ने बताए ।
प्रदेश प्रमुख शर्माले प्रजातन्त्रमा प्रेस स्वतन्त्रताको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै नयाँ युवा पुस्तालाई पत्रकारिता क्षेत्रको विकासको लागि अग्रसर रहनुपर्ने आवश्यकता रहेको बताए ।
त्यसैगरी कार्यक्रमका विशेष अतिथि बागमती प्रदेश सामाजिक विकासमन्त्री कुमारी मोक्तानले अधिकारीद्वारा लिखित मकवानपुरमा मिडिया पुस्तक देशमै संग्रहणीय हुने विश्वास व्यक्त गरिन् । उनले अग्रज पत्रकारहरुको योगदानको कदर पनि यो पुस्तकले गरेको बताइन् ।
कार्यक्रममा बकैया बागमती प्रदेशसभा सदस्य मुनु सिग्देल, गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, नेकपा एमाले मकवानपुरका अध्यक्ष बद्रीप्रसाद लम्साल, एकपा एकीकृत समाजवादी पार्टी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल, नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइराला, प्रदेश युवा परिषद् बागमती प्रदेशका कार्यकारी उपाध्यक्ष सन्तोष चौँलागाई, ब्रोडकास्टिङ एशोसिएसन अफ नेपालका केन्द्रीय उपाध्यक्ष उज्ज्वल चौँलागाई, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, नेकपा माओवादी केन्द्रका प्रचार विभाग प्रमुख कमानसिं पाख्रिन लगायत मकवानपुरका संचारकर्मी र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।






