तामाङ राष्ट्रिय पुस्तकालय स्थापना

तामसालिङ खबर
२६ मंसिर २०७८, आईतवार ०६:५२

मंसिर, काठमाडौं – तामाङ राष्ट्रिय पुस्तकालयको औपचारिक उद्घाटन भएको छ। शुक्रबार काठमाडौंको बौद्धस्थित तामाङ भवनमा स्थापना गरिएको पुस्तकालयको जापानका लागि पूर्वराजदूत एवं समाजसेवी डा.गणेश योन्जनले रिबन काटेर उद्घाटन गरेका हुन।

उद्घाटन समारोहमा प्रमुख डा.योन्जनले इतिहासका विभिन्न कालखण्डमा राज्यद्वारा पछाडि पारिएका तामाङ समुदायको ज्ञानको भण्डारण तथा पुस्तान्तरणका लागि तामाङ पुस्तकालय कोशेढुंगा हुने बताए ।

उनले पुस्तकालय सञ्चालनका लागि अक्षयकोष खडा गर्न पाँच लाख रुपैयाँ प्रदान गर्ने घोषणा पनि गरे। कार्यक्रममा काठमाडौं महानगरपालिका वडा-६ का अध्यक्ष दीपेन्द्र घोले तामाङ, बौद्ध तामाङ कल्याण गुठीका अध्यक्ष खड्गजित लामा, मानवशास्त्री डा. मुक्तसिंह लामा, लेखक प्रताव बल लगायतले शुभकामना दिँदै पुस्तकालयको दीर्घकालीन सञ्चालनका लागि सबैको साथ आवश्यक पर्नेमा जोड दिए।

कार्यक्रममा तामाङ भाषाविद् अमृत योन्जन तामाङको तामाङ भाषा सिक्ने पुस्तक ‘तामाङ ताम’ विमोचन गरिएको थियो। पुस्तकालयको अवधारणा प्रस्तुत गर्दै तामाङ राष्ट्रिय पुस्तकालयका अध्यक्ष समेत रहेका योन्जनले तामाङ समुदायका विभिन्न विषयमा लेखिएका पुस्तक एकैठाउँमा अध्ययन गर्न पाउने गरी पुस्तकालय स्थापना गरिएको बताए ।

तामाङ पुस्तकालयलाई तामाङ अनुसन्धान केन्द्र र स्रोत केन्द्रको रूपमा पनि विकास गर्न प्रयत्नरत रहने उनले प्रतिबद्धता जनाए। उनका अनुसार पुस्तकालय सञ्चालनका लागि बौद्ध तामाङ कल्याण गुठीले निःशुल्क भवन उपलब्ध गराएको हो ।

पुस्ताकालयमा तामाङ भाषामा लेखिएका, तामाङद्वारा लेखिएका, तामाङ अध्ययन (तामाङबारे लेखिएका), तामाङ दुर्लभ पुस्तक, थेसिस र अभिलेख राखिएको छ ।

यस्तै तामाङ भाषाका पत्रपत्रिका, कोशलगायतका सन्दर्भग्रन्थ,जर्नल, सम्पादित पुस्तक, अनुसन्धानमूलक सामग्री र प्रतिवेदन, बौद्ध–स्वयम्भू–नमोबुद्ध सम्पदा र बौद्ध क्षेत्रका प्रकाशन, आदिवासी अध्ययन, महिला अध्ययन, हिमाली अध्ययन, भाषा र भाषाविज्ञानका पुस्तक तथा समग्री अध्ययन गर्न पाइनेछ।

राजनीति, ऐन कानुन र नीति नियम, लोकवार्ता, लोकदर्शन र लोकविज्ञान तथा प्रविधि सम्बन्धी अध्ययन पुस्तकालयमा गर्न पाइने अध्यक्ष तामाङ बताए।

मातृभाषा, साहित्य, संस्कृति र शिक्षाको उत्थान गर्ने उद्देश्यले स्थापना गरिएको पुस्तकालयलाई छिटै विश्वको जुनसुकै कुनामा बसेर पनि अध्ययन गर्न पाउने गरी डिजिटलाइज्ड गर्ने पनि पुस्तकालय सञ्चालक समितिले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*