बागमती प्रदेशमा थपिए, ५ मन्त्री र एक राज्यमन्त्री
मंसिर, हेटौंडा – बागमती प्रदेशमा ५ जना मन्त्री र एक राज्यमन्त्री थपिएका छन् । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्री तथा राज्यमन्त्री थप गरेका हुन् ।
उनीहरूलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार पद तथा गोपनियताको सपथग्रहण गराएका छन् । माओवादी केन्द्रबाट घनश्याम दाहाल श्रम, रोजगार तथा यातायात मन्त्रीमा, विशाल खड्का वन तथा वातावरण मन्त्रीमा, रत्नप्रसाद ढकाल युवा तथा खेलकुद मन्त्री बनेका हुन् । एकीकृत समाजवादीबाट खानेपानी उर्जा तथा सिंचाई मन्त्रीमा बसन्तप्रसाद मानन्धर, कृषि तथा पशुपंक्षी मन्त्रीमा बसुन्धरा हुमागाईं र कृषि तथा पशुपंक्षी राज्यमन्त्रीमा इन्द्रमाया गुरुङ नियुक्त हुनुभएको हो ।
सरकारको नेतृत्व गरिरहेको नेकपा एकीकृत समाजवादीबाट २ मन्त्री, एक राज्यमन्त्री र नेकपा माओवादी केन्द्रबाट ३ जना मन्त्री थप गरिएको हो । यो संगै बागमतीमा मुख्यमन्त्री सहित ११ मन्त्री र एक राज्य मन्त्रीको सरकार बनेको छ ।
यसअघि पहिलो चरणमा कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल भौतिक पूर्वाधार, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान सामाजिक विकास, एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद शर्मा खनाल आन्तरिक मामिला मन्त्री भइसकेका छन् ।
यस्तै, दोस्रो चरणमा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेल आर्थिक मामिला र कांग्रेसबाट निमा लामाले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । गत मंसिर १५ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार ८ वटा मन्त्रालय फुटाएर चौध वटा मन्त्रालय बनाइएको थियो ।






