सूर्य माविमा तीन दिने स्काउट फ्रेन्डसिप क्याम्प सुरु
पुष, हेटौडा (बागमती) – मकवानपुरको पूर्वी क्षेत्र बागमती गाउँपालिका वडा नं. १ माझगाउँ स्थित श्री सूर्य माविमा तीन दिने स्काउट फ्रेन्डसिप क्याम्प सुरु भएको छ l उक्त क्यामको उद्घाटन बागमती गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष श्री ठगेन्द्र वाइबाको प्रमुख अतिथ्यतामा भएको हो।
उद्घाटन समारोहमा प्रमुख अतिथि वाइबाले भने स्काउट सम्बन्धी यस्ता कार्यक्रम विद्यालय स्तरमा नियमित संचालन गरिनु पर्ने र यसैलाई मध्यनजर गर्दै आफूले बजेट विनियोजन गरेको बताए l विद्यालय स्तरमा यस्ता कार्यक्रम संचालनले विद्यार्थीहरुको चौतर्फी विकासको लागि सहयोग पुग्ने विचार व्यक्त गरे l
आफ्नो कार्यकाल केही समय मात्र बाँकि भएको स्मरण गर्दै अध्यक्ष वाइबाले भने आफू पुन: यस पाकिकको कुनै तहमा निर्वाचित भएमा स्काउटको लागि आवश्यक पर्ने बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरे ल
मन्तव्यको क्रममा कार्यक्रमका विशिष्ट अतिथि नेपाल स्काउट बागमती प्रदेश समिति सदस्य महेन्द्र रानाले भने स्काउट विकासको मामिलामा बागमती गाउँपालिका मकवानपुरको अन्य पालिकाहरुको तुलनामा अग्र स्थानमा रहेको बताए l
जनप्रतिनिधिहरु सकारात्मक हुँदै स्काउटिङ विकासमा चासो र अग्रसरता देखाएकोमा आभार तथा धन्यवाद ज्ञापन समेत गरे l अयोजक सूर्य स्काउट ट्रुपको यो क्याम्प आयोजना गरेर लामो समय पछी यति धेरै स्काउट विद्यार्थीहरुलाई स्काउटिङ ज्ञान प्रदान गरेकोमा प्रसंशा पनि गरे ल
कार्यक्रमा सहभागी भएका वडा नं. २ का अध्यक्ष जगतबहादुर भोलन, वडा नं. ३ का अध्यक्ष बलबहादुर पाख्रिन र वडा नं. ४ का अध्यक्ष रहर सिं थिङले स्काउटिङ र गाइडिंग कार्यले विद्यार्थीहरुको शारीरिक, मानसिक, वौद्धिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने र यसले बालबालिका तथा युवाहरुको वृति विकासमा सहयोग पुग्ने साथै अनुशासित, स्वावलम्बी एवं कर्मठ देश भक्त नागरिक तयार हुने साझा धारणा व्यक्त गरे l
साथै स्काउट सम्बन्धी विविध गतिविधि संचालनका लागि आफ्नो तर्फबाट आवश्यक बजेट विनियोजनको लागि प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गरे l
मन्तव्यको क्रममा गाउँपालिकाका शिक्षा अधिकृत रमेश बिडारीले भने स्काउट विद्यालयमा संचालन गर्नु आवश्यक छ l यस्ता कार्यक्रम संचालनको लागि स्थानीय सरकारको मुख्य भूमिका एवम् जिम्मेवार रहने हुँदा वार्षिक बजेट विनियोजन गर्दा प्राथमिकतामा राख्नु पर्ने सुझाव दिए l आफू पनि स्काउट बारे केही अनुभवहरु प्राप्त गरेको स्मरण गर्दै नेपाल सरकारले स्काउटिंगको लागि ऐन तथा नियमावलीहरू जारी गर्दै व्यवस्थित गर्न खोजिएको जानकारी गराए l
कार्यक्रमका अतिथिहरु नेपाली कांग्रेस प्रतिनिधि शंकरकुमार पराजुली, नेकपा एमाले प्रतिनिधि किशोर कुमार राई, नेकपा माओबादी केन्द्र प्रतिनिधि प्रदिपकुमार राई, विव्यस अध्यक्ष डोरबहादुर थापा, सदस्य यज्ञबहादुर श्रेष्ठ, शिक्षा प्रेमी आनन्द राई, टंकेश्वर आविका प्र.अ. डम्बरबहादुर राई लगायतले आयोजित तीन दिने क्याम्पको पूर्ण सफलताको शुभकामना व्यक्त गरे l
वडा नं १ को आर्थिक सहयोग तथा नेपाल स्काउट, बागमती प्रदेश स्काउट, स्थानीय स्काउट कार्यालय, बागमती गाउँपालिका, वडा नं. १, सूर्य स्काउट ट्रुपद्वारा आयोजित उक्त क्याम्पमा श्री सूर्य मावि, बागमती १, का सूर्य स्काउट ट्रुप, श्री सुनौला मावि, थाहा न.पा. १, का सुनौला स्काउट ट्रुप, श्री जनकल्याण मावि, थाहा न.पा. ३, का जनकल्याण स्काउट ट्रुप, श्री देवकी मावि, बागमती, ५ का देवकी स्काउट ट्रुप र श्री बागमती मावि, बागमती २ का बागमती स्काउट ट्रुप गरी जम्मा पाँच विद्यालयबाट छात्रा ८२ जना र छात्र ८४ जना गरी जम्मा १६६ जना विद्यार्थीहरु सहभागी रहेको क्याम्प संयोजक तथा स्काउट शिक्षक राजकुमार राईले जानकारी गराए l
पुष २३ गते शुक्रबारदेखि सुरु भएको क्याम्प पुष २५ गते आइतबारसम्म संचालन हुनेछ l तीन दिनको अवधिमा टनेल, वाकिङ अन द ब्याम्बो, टच द टार्गेट, टायर क्रसिङ, बिम क्लाइम्बिङ, सुपर म्यान, ओमेगा जम्प, मंकी ब्रिज, टायर चिम्नी लगायतका नौं प्रकारका साहसिक खेलहरुको अभ्यास गराउने साथै डोरी, हाजिरीजवाफ, नृत्य, मार्च पास लगायतका चार प्रकारका प्रतियोगिता हुने क्याम्प निर्देशक नरेश अवाले जानकारी गराए l
तीन दिने फ्रेन्डसिप क्यामलाई व्यवस्थित गर्नका लागि विद्यालयका प्रधानाध्यापक एवम् क्याम्प प्रमुख रत्नबहादुर राई सहित ३१ जनाको टिम गठन भएको छ l क्याम्प संयोजक राजकुमार राई, क्याम्प निर्देशक नरेश अवाले, क्याम्प क्रियाकलाप संयोजक र सह संयोजक अनिल आचार्य र सर्वज्ञराज खरेल, ब्वाइज क्याम्प प्रमुख र उपप्रमुख जोन पहाडी(अफिसियल क्यामेरा मेन) र अविनास नेपाल, गर्ल्स क्याम्प प्रमुख तथा उपप्रमुख सुमित्रा लामा र रिता सिन्तान, प्राथमिक उपचार संयोजक जीवन घिसिङ लगायतका रोवर तथा रेन्जरहरु बीच कार्यविभाजन भएको छ l
नेपालका बालबालिका तथा युवा वर्गलाई स्काउटमा आधिकाधिक मात्रामा सहभागी गराई तिनीहरुको शारीरिक, मानसिक र बौद्धिक विकास गरी तिनीहरुलाई अनुशासित र स्वावलम्बी बनाई देश विकास कार्यमा सहभागी गराउने उद्देश्यले नेपालमा वि.सं. २००९ आसर ५ गते नेपाल स्काउटको स्थापना भएको हो l






