मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड
बैशाख, हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा निर्माण हुँदै गरेको दिब्य बाल उद्यानमा तोडफोड भएको छ । गएराति अज्ञात समूहले पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड गरेको हो ।
बिहान पार्कमा मर्निङवाक गर्न आएका स्थानीयले शालिक तोडफोड भएको देखेपछि पार्क व्यवस्थापन समितिलाई खबर गरेका थिए । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक पूर्वाग्रह राखेर यस्तो घटना घटाइएको हेटौंडा- का वडाध्यक्ष तथा पार्क व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले आरोप लगाए ।
समितिले प्रहरीलाई जानकारी गराउँदै अहिले ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरी निरीक्षक अबिनाश अधिकारीसहितको टोलीको घटनाको अनुगमन सुरु गरिसकेको छ ।
पार्कमा अन्य कुनै संरचनालाई क्षती नगरी मात्र मदन-आश्रित को मात्र प्रतिमा तोडिनुले वडाको गौरवको योजनाको रुपमा रहेको पार्क निर्माणको लक्ष्यमा ठेस पुगेको उनको भनाई छ ।
पार्कमा रहेका अन्य संरचना भने यथावत रहेको उनले बताए । त्यहाँ रहेका गमला, बत्ती केही नगरिनु र शालिकलाई मात्रै असर पुग्ने गरी घटना घटाइनु मदनको विचारसँग पनि असमर्थ रहेकाले नियोजित रुपमा गरिएको अपराधिक कार्य भएको भण्डारी बताउँछन् ।






