उम्मेदवार माथी दावी बिरोध गर्ने आधार के के हो ? हेर्नुहोस्
बैशाख, हेटौडा – निर्वाचन अधिकृतको कार्यालयको अनुसार आज बैशाख १३ गते उम्मेदवारहरुबारे दाबी बिरोध र उजुरी दिने समय तोकिएको छ । यसरी दाबी बिरोध वा उजुरी गर्न व्यक्ति सम्बन्धित पदमा उम्मेदवार दिएका ब्यक्ति अर्का उम्मेदवार नै हुनुपर्नेछ । बैशाख १५ गतेसम्म परेका उजुरीहरुबारे छानबीन गरिनेछ र बैशाख १५ गते साँझ उम्मेदवारहरुको नामावली पुनः प्रकाशन गरिनेछ ।
बैशाख १६ साँझ ५ बजेसम्ममा उम्मेदवारी फिर्ता प्रक्रिया हुनेछ । फिर्ता लिएका उम्मेदवारहरुको नामावली हटाएर निर्वाचनमा होमिन तयार उम्मेदवारहरुको अन्तिम नामावली बैशाख १६ गते साँझ ६ बजे प्रकाशन हुनेछ । बैशाख १७ गते उम्मेदवारहरुलाई चिन्ह प्रदान गरिनेछ ।
यस्ता छन् उजुरी दिन सकिने आधारहरू:
१ गैर नेपाली नागरिक
२ नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको,
३ कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको,
४ निर्वाचनसम्बन्धी प्रचलित कानून बमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको,
५ भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै कसुरमा जन्मकैद वा बीस वर्ष वा सो भन्दा बढी कैदको सजाय पाइ त्यस्तो फैसला अन्तिम भएको,
६ संगठित अपराधसम्बन्धी कसुरमा कैदको सजाय पाई वा कर्तव्य ज्यान सम्बन्धी कसुरमा बीस वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको,
७ जातीय भेदभाव तथा छुवाछुत, बोक्सी वा बहु विवाहसम्बन्धी कसुरमा कैदको सजाय पाइ त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको,
८ खण्ड च र छ मा उल्लेखित कसुरबाहेक अन्य कसुरमा पाँच वर्ष वा सो भन्दा बढी कैदको सजाय पाइ त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको,
९ प्रचलित कानून बमोजिम कालोसूचीमा रहेकोमा सो अवधिभर,
१० कैदमा बसेकोमा कैद बसेको अवधिभर,
११ मानसिक सन्तुलन ठीक नभएको,
१२ प्रचलित कानुनले अयोग्य भएका ।






