मंगलबारदेखि सीमा नाका बन्द हुने

तामसालिङ खबर
२६ बैशाख २०७९, सोमबार १२:०४

बैशाख, काठमाडौ – सरकारले मंगलबार रातिदेखि ७२ घण्टासम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने भएको छ । स्थानीय तह निर्वाचन सुरक्षाका लागि मंगलबार मध्यरातिदेखि मतदान हुने दिनसम्मका लागि सीमाबाट हुने आवागमन बन्द गर्न लागिएको हो ।

मतदानको दिनभन्दा अगाडिको ७२ घण्टालाई मौन अवधि मानिन्छ । मौन अवधिमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने र चुनाव प्रचार गर्न बन्देज लगाउने गरिन्छ ।

सीमावर्ती जिल्लाका प्रशासन कार्यालयहरुलाई मंगलबार मध्यरातिदेखि सीमा नाका बन्द गर्न भनिसकिएको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले अनुमति बेगर सीमाबाट आउ-जाउ गर्न नदिन निर्देशन दिइएको जानकारी दिए ।

नेपालका ४२ जिल्ला चीन र भारतसँग जोडिएका छन् । भारततर्फका सीमा नाका खुल्ला हुने भएकाले आवागमन रोक्न चुनौती हुने गरेको छ । मतदानका दिन सवारी अनुमति पत्र बोकेका गाडीहरुमात्र गुडाउन पाइने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*