तातोपानीमै थन्कियो ५० टन युरिया

तामसालिङ खबर
२० जेष्ठ २०७९, शुक्रबार ०७:०६

जेठ, सिन्धुपाल्चोक – किसानले मल अभावमा धानको ब्याड राख्न नपाएको बेला उत्तरी तातोपानी नाकामा भने चीनबाट खरिद गरिएको ५० टन युरिया २० दिनदेखि थन्किएको छ ।

भोटेकोशी गाउँपालिका–२ स्थित तातोपानी सुक्खा बन्दरगाहको गोदाममा ५० टन युरिया (५० कन्टेनर) मल थन्किएको हो । भन्सार प्रक्रियाका लागि कोही नआउँदा मल गोदाममै रोकिएको तातोपानी सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले बताए ।

‘यसअघि सामान आए लगत्तै भन्सार प्रक्रिया सकेर काठमाडौं लगिने गरिए पनि २० दिनअघि भित्रिएको ५० कन्टेनर युरिया लिन कम्पनीका प्रतिनिधि अझै आएका छैनन्,’ उनले भने, ‘हामी भन्सार प्रक्रिया सकेर तुरुन्तै पठाउन तयार भएर बसेका छौं, सम्बन्धित पक्षलाई खबर पनि पठाएका छौं ।’

मल आयातको ठेक्का पाएको सिल्क ट्रान्सपोर्टले यसअघि ५ सय ३९ मेट्रिक टन तातोपानी नाका हुँदै काठमाडौं पुर्‍याएको थियो । ६० दिनभित्र मल लिन नआए भन्सार नियमअनुसार सामान जफत हुने प्रावधान रहेको र यसबारे सम्बन्धित कम्पनीलाई मौखिक जानकारी दिएको पनि उनको भनाइ छ ।

ग्लोबल टेन्डरपछि सरकारले सिल्क ट्रान्सपोर्ट कम्पनीलाई चीनबाट १० हजार मेट्रिक टन मल आयातको ठेक्का दिएको थियो । ठेक्का पाएको कम्पनीको आन्तरिक विवादका कारण भन्सारमा आइपुगेको मल ल्याउन ढिलाइ भइरहेको स्रोतको भनाइ छ ।

तातोपानी नाकामा मल थन्किएको बारे सिल्क ट्रान्सपोर्टका अध्यक्ष रमेश शेर्पाले शुक्रबार थप मल पनि भित्रिने भएकाले विस्तृत विवरण बुझिसकेपछि मात्रै ढुवानीबारे भन्न सकिने बताए । ‘भोलि थप मल पनि भित्रिनेछ, सबै विवरण बुझेपछि मात्रै यसबारे थाहा हुन्छ,’ उनले भने ।

मलको खोजीमा राजधानीसम्म पुगेका स्थानीय किसान भौंतारिएको २ महिना बितिसकेको छ । बिहीबार भन्सारको गोदाममा रहेको युरिया मलको बोरा हेरेर मन कुडाउँदै घर फर्किएका भोटेकोशी–३ का सोङबहादुर तामाङले भने, ‘त्यहाँ यत्रो बोरा थन्किएको रैछ, यता मल नपाएर त्रास र हाहाकार छ । कुरो के हो बुझ्न सकिएन ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*