फोटो प्रतियोगितामा थाहाका सुरज दोस्रो

तामसालिङ खबर
२ असार २०७९, बिहीबार ०७:१६

असार, हेटौडा (थाहानगर) – प्रतियोगितामा सुरजकुमार भुजेलले मकवानपुरबाट खिचेर पठाउनुभएको तस्बिर द्वितीय भएको छ । भुजेलको तस्बिरमा मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ७ की ८३ वर्षिया दिलमाया चेपाङले मतदान गर्दै गरेको देखिन्छ।

पुरस्कृतहरू मध्ये प्रथमलाई रु. १० हजार, द्वितीयलाई रु. छ हजार र तृतीयलाई रु. चार हजार प्रदान गर्ने व्यवस्था गरिएको छ । यस्तै, ‘पिपुल च्वाइस’ विधामा विजेताका लागि रु. पाँच हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

‘स्थानीय तह निर्वाचन २०७९ मा महिला सहभागितासम्बन्धी फोटो प्रतियोगिता’ को नतिजा ‘सन्धान’ ले आज सार्वजनिक गरेको हो । स्थानीय तहको दोस्रो निर्वाचनमा भएको महिला सहभागितासम्बन्धी फोटाहरूलाई अभिलेख गर्ने उद्देश्यले ‘सन्धान’ ले प्रतियोगिताको आयोजना गरेको हो ।

निर्णायकमण्डलमा फोटो पत्रकारहरू श्रुति श्रेष्ठ, कविता थापा र वर्षा शाह हुनुहुन्थ्यो । प्रतियोगिताका लागि कुल ५३ वटा तस्बिर प्राप्त भएका थिए । तीमध्ये पहिलो चरणमा ३२ वटा फोटाहरू छनोटमा परेका थिए ।

छनौटमा परेकामध्येबाट १७ वटा फोटालाई निर्णायकमण्डलले ‘पिपुल च्वाइस’ विधाका लागि प्रतिस्पर्धामा पठाएको थियो । ती फोटालाई ‘सन्धान’ को फेसबुक पेजमा जेठ २० गतेदेखि जेठ २७ गतेसम्म राखिएको थियो ।

फेसबुक पेजमा राखिएका फोटाहरूमा एक सेयर भएकोलाई दुई दशमलब पाँच, एक लाइकको लागि दुई र कमेन्टका लागि एक अङ्कभार राखिएको थियो । सबैभन्दा बढी अङ्क पाउनेलाई ‘पिपुल च्वाइस’ विधातर्फ पुरस्कृत गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*