नवनियुक्त राजदुत तामाङलाई तामाङ पत्रकार संघ बागमती प्रदेशद्वारा सम्मान
साउन, काठमण्डौ – दक्षिण अफ्रिकाका लागि राजदुत सिफरिस हुनुभएका दानबहादुर तामाङलाई तामाङ पत्रकार संघ बागमती प्रदेश समितिले सम्मान गरेको छ ।
बुधबार एक कार्यक्रमको आयोजना गरि तामाङको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै खादा र सम्मानपत्रका साथ सम्मान गरिएको हो । कार्यक्रममा नवनियुक्त राजदुत तामाङले दक्षिण अफ्रिकामा नेपालीहरुको हितमा लागिपर्ने बताउनुभयो । आफ्नो कार्यकालमा सञ्चार र सञ्चारकर्मीहरुसँग समन्वय गरि प्रभावकारी कार्यसम्पादन गर्ने उहाँले बताउनुभयो ।

विगतमा नितिगत रुपमै शोषणमा पारिएका तामाङ समुदायबाट राज्यको महत्वपुर्ण पदमा नियुक्ति पाउनु गर्वको बिषय रहेको तामाङ पत्रकार संघ बागतमी प्रदेशका अध्यक्ष अर्जुन पाख्रिनले बताउनुभयो । उहाँले महत्वपुर्ण सार्वजनिक पदमा पुगेका ब्यक्तिहरुले तामाङ समुदायको मौलिकता, कला सँस्कृति र पहिचान भुल्न नहुनेमा जोड दिनुभयो ।
कार्यक्रममा तामाङ डाजाङका अध्यक्ष फुलकुमार बम्जन, चलचित्र निर्देशक बिनय दोङ्ग, याम्बु मिडियाका प्रमुख शुक्र पाख्रिन लगायतले नवनियुक्त राजदुत तामाङको सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभयो ।
सफल ब्यवसायी र समाजसेवीको रुपमा चिनिनुभएका नवनियुक्त राजदुत तामाङ्ग चितवनका स्थायी बासिन्दा हुन । हाल काठमण्डौ बस्दै आउनुभएका उहाँ २०७० सालको संविधानसभाको निर्वाचनमा नेकपा एमालेका तर्फबाट उमेदवार हुनुहुन्थ्यो । हाल उहाँ माओवादी केन्द्रको कोटाबाट राजदुत सिफारिस हुनुभएको हो ।






