जोडी झरनामा स्थानीय तथा बाह्य पर्यटकको आकर्षण बढ्दो
साउन, हेटौडा – वर्षायाममा मकवानपुरको विभिन्न ठाउमा रहेको झरनामा आन्तरिक तथा वाह्य पर्यटकको घुईचो बढ्न थालेको छ। भिमफेदी गाउँपालिका वडा नम्बर १ मा रहेको जोडी झरनामा पर्यटकको घुईचो बढ्न थालेको हो ।
गर्मी छल्नको लागि मकवानपुर लगायत छिमेकी जिल्ला सहित छिमेकी राष्ट्र भारतको रक्सौल, बिहारबाट समेत पर्यटक आउने गरेको जोडी झरना संरक्षण समितिले जनाएको छ ।
शनिबार र बिदाको दिन प्रायः १ हजार बढी पर्यटकको आवगमन हुने गरेको समितिको दाबी छ । त्यस्तै, अन्य दिन ५ सय बढी पर्यटकको आवगमन हुने गरेको छ । पर्यटकहरु गर्मी छल्न चिसोपनको आनन्द लिई फोटो, भिडीयो लिन व्यस्त हुन्छन् ।
डस्टबिनको अभावका कारण झरनाको परिसरमा प्लास्टिकका बोतल, अन्य फोहोरहरु देखिएको छ । फोहोर व्यवस्थापनमा डस्टबिन थप्ने तयारी रहेको समितिले जनाएको छ । पर्यटकको सहजताको लागी टस, सौचालय र कपडा परिवर्तन गर्ने कोठा समेत बनाउने तयारी रहेको समितिले जनाएको छ ।
वर्षायाममा मकवानपुरको अधिकांश क्षेत्रमा झरनाको स्वरुप देख्न सकिन्छ। भीमफेदीको जोडी झरना सहित, त्रिखण्डि मन्दिर क्षेत्रमा रहेको झरना, इन्द्रसरोबरको मार्खुमा रहेको मोहिनी झरना, गढीको सिमातमा रहेको झरना, मनहरीको कालिका झरनामा स्थानीय तथा बाह्य पर्यटकहरुको आकर्षण क्षेत्र बनेको छ।

भुवन घलान




