तामाङ समुदायले आज गोने ङ्ह्या पर्व मनाउँदै

तामसालिङ खबर
२७ श्रावण २०७९, शुक्रबार ०६:४८

साउन, हेटौडा – तामाङ समुदायले आज गोने ङ्ह्या पर्व मनाउँदैछन् । आजको दिन कुल पुजा गर्ने तथा नजिकको तिर्थ जाने गरिन्छ।

गोने ङ्ह्या तामाङ शव्द हो । यो गोने र ङ्ह्या दुई भिन्न शव्दहरु मिलेर बनेको हो । जसको अर्थ गोनेको ङ्ह्या भन्ने हुन्छ । गोने तामाङ सातौ महिनाको नाम हो । यो नेपाली साउन र भदौ महिनाको बीचमा पर्दछ । जसको अर्थ गोने महिनाको ङ्ह्या अर्थात पुर्णिमा भन्ने हुन्छ ।

तामाङ भित्रका विभिन्न थर बिशेषले आज बिहानै घर, आँगन तथा टोल सरसफाई गरि घर शुद्धो अर्थात दिम सिल्बा र कुलपुजा गर्ने गर्छन् । बोन धर्ममा आस्था राख्नेहरु आजको दिन तिर्थस्थलहरुमा जाने र देविदेवता पुज्ने (ला ज्याल्बा) गर्दछन् ।

आजको दिन काभ्रेको तेमाल नारायणस्थान, सिन्धुपाल्चोक पाँचपोखरी, दोलखा र रामेछापको सिमानामा रहेको शैलुङ, धादिङको सिङल्हा, रसुवाको गोसाइकुण्ड, पार्वती कुण्ड लगायतमा बिशेष मेला लाग्ने गर्दछ ।

ती स्थानका मेलाहरुमा तामाङ बोम्बोहरुको भिड लाग्ने गर्छ । आजको दिन घरको पाली तथा छानामा गोने म्हेन्दो लगायत फुल छर्ने, सबै कपडा घाममा सुकाउने, मकै कुल देवतालाई चढाउने पनि गर्छन् ।

छाम (गुफा) मा बसेका बोम्बोहरु दिक्षित भएर निस्कने गर्छन । ज्ञान हस्तान्तरणको दिनको रुपमा आजको दिनलाई तामाङहरुले ज्ञान दिवस भनेर पनि पछिल्लो समय मनाउन थालेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*