घेदुङ २० लाख तामाङको साझा घर हो – उपसभामुख तामाङ

तामसालिङ खबर
२२ श्रावण २०७९, आईतवार ०६:५३

साउन, काठमाण्डौ – बागमती प्रदेशको उपसभामुख राधिका तामाङले नेपाल तामाङ घेदुङ संसारभरि छरिएर रहेका २० लाख तामाङको साझा घर भएको बताउनु भयो । उहाँले अगाडि भन्नुभयो, तामाङ समुदायको सामाजिक, सांस्कृतिक, राजनीतिक आन्दोलनको साझा अगुवाई गर्ने यो संस्थासँग सबैको आस्था जोडिएको छ ।

नेपाल तामाङ ताम्बा घेदुङ संघीय कार्यसमितिले निर्माण गरेको साङ्सेरकेम ह्वाई नामक भिडियोलाई घेदुङ हलमा आयोजित समारोहमा सार्वजनिक गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।

पहिचानको बारेमा गलत ब्याख्या भइरहेको भन्नुहुँदै उपसभामुख तामाङले हामी तामाङहरु आफै पनि बहकिएर यसखालले कुराको पछि लागिरहेको प्रति दुःख व्यक्त गर्नुभयो ।

राज्यले आदिवासी समुदायको उत्पादनलाई पोखाउने र बहुराष्ट्रिय कम्पनीको उत्पादनलाई प्रवद्र्धन गर्ने हुँदा तामाङ लगायतको संस्कृति, भाषा र उत्पादन सम्बन्ध ध्वस्त हुँदै गएको बताउनुभयो । यस्तो जटिल अवस्थामा उहाँले हाम्रो अलिखित इतिहासलाई दस्तावेजीकरण गर्दै अघि बढ्न सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रमका विशेष अतिथि नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले तामाङले आदिवासी समुदायमाथि चौतर्फी हमला भइरहेको बताउनुभयो । उहाँले एकातिर ब्रह्माणवादी राज्यसत्ताको प्रहार, अर्कोतर्फ पश्चिमा उत्पादनको व्यापारिकरण र धार्मिक अतिक्रमणले तामाङ जीवन दर्शन संकटमा परेको उल्लेख गर्नुभयो ।

अध्यक्ष गोलेले ३५ सय वर्षदेखि हिन्दू अतिवादले निर्माण गरेको भष्यविरुद्ध लड्न भर्खरै अभियान सुरु भएको भन्नुहुँदै यसको अन्त्य भइनसकेको जनाउनुभयो । जसरी खेतमा कुलोको पानी सिंचन हुन समय लाग्छ उहाँले भन्नुभयो, त्यसैगरी हिन्दू भाष्यद्वारा छोपिएको हाम्रो सभ्यतालाई पुनस्र्थापित गर्न पनि समय लाग्छ । उहाँले यो अभियानबाट अभियन्ताहरुले हिम्मत नहार्न आग्रह गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*