दुई पत्रकारलाई तामाङ मिडिया अवार्ड

तामसालिङ खबर
१ भाद्र २०७९, बुधबार १७:३९

भदौं, काठमाडौ – २८औँ तामाङ प्रसारण दिवसका अवसरमा तामाङ पत्रकार संघले दुई जना पत्रकारलाई ‘तामाङ मिडिया अवार्ड’बाट सम्मान गरेको छ। संघले बुधवार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा पत्रकार सञ्चकुमारी तामाङ ब्लोन (ललितपुर) र पत्रकार ईश्वर तामाङ (उदयपुर)लाई अवार्ड प्रदान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले पत्रकारद्वयलाई प्रमाणपत्र, नगदसहितको पुरस्कार हस्तान्तरण गरे। सम्मानित ब्लोन लामो समयदेखि सञ्चारक्षेत्रमा आवद्ध छिन् । उनी हाल रेडियो थाहा सञ्चारमा समाचार सम्पादक रहेकी छिन्। उदयपुरका तामाङ राजधानी दैनिक लगायतका संचारमाध्यममा क्रियाशील छन्।

सम्मान प्रदान गर्नुअघि तामाङ मिडिया अवार्ड छनोट समितिका संयोजक एवं तामाङ पत्रकार संघका सल्लाहकार जगतमान दोङले पुरस्कृत हुने व्यक्तिहरुको छनोट मापदण्डबारे जानकारी गराएका थिए। कार्यक्रममा भाषा आयोगका सदस्य अमृत योञ्जन तामाङ, नेपाल तामाङ घेदुङका सहअध्यक्ष कुमारसिंह घिसिङ, अन्तर्राष्ट्रिय तामाङ परिषद्का वरिष्ठ उपाध्यक्ष टासी लामा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का उपाध्यक्ष अमरध्वज लामा, तामाङ समाज उत्तर अमेरिकाका तत्कालीन अध्यक्ष लक्यान लामालगायत विभिन्न दल र संघसंस्थामा आबद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो।

तामाङ समुदायबाट पत्रकारिता गर्दै आएका पत्रकारहरु र तामाङ सञ्चारमाध्यममा आबद्धहरुले रेडियो नेपालबाट २०५१ भदौ १ गते अपराह्न ४ बजेपछि ५ मिनेट तामाङ भाषामा समाचार प्रसारण भएको दिनलाई तामाङ प्रसारण दिवसको रूपमा मनाउँदै आएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*