मकवानपुरमा भूमिहीनलाई जग्गाधनी पूर्जाको वितरण गर्ने तयारी
भदौं, हेटौंडा – राष्ट्रिय भूमि आयोग मकवानपुरले मकवानपुर जिल्लाका २ हजार ४ सय ६३ भूमिहीन परिवारलाई जग्गाधनी पूर्जा दिने तयारी सुरु गरिएको जनाएको छ ।
आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोगले हालसम्म भएका गतिविधिहरु सार्वजनिक गर्दै चालु वर्षभित्रै पहिचान भएका भूमिहीनलाई जग्गाधनी पूर्जा वितरण गर्ने तयारी गरिएको जानकारी दिएको हो ।
आयोग मकवानपुरका अध्यक्ष विष्णुप्रसाद दाहालले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले चाँडै नै जग्गा धनी प्रमाणपत्र प्राप्त गर्ने विश्वास व्यक्त गरे । जिल्लाको बागमती गाउँपालिकाका ३० परिवार भूमिहीनलाई जग्गाधनी पूर्जा वितरणको अन्तिम तयारी भइसकेकोसमेत जानकारी दिए ।
आयोगका सदस्य सचिव एवम् नापी कार्यालय मकवानपुरका प्रमुख नापी अधिकृत पूर्णहरि सुवेदीले जिल्लाको १० वटै स्थानीय तहमा गरी ३ सय ७९ जना भूमिहीन दलित, २ हजार ४ सय ६३ जना भूमिहीन सुकुम्बासी र ३३ हजार ३ सय २६ संख्याले अव्यवस्थित बसोबासीले जग्गा प्रमाण पत्रको लागि निवेदन दिएको बताउँदे आवश्यक प्रक्रिया पूरा गरी जग्गा प्रमाणपत्र दिइने बताए ।
आयोगले पहिलो चरणमा भूमिहीन दलित र सुकुम्बासीलाई लाजपूर्जा दिने जनाएको छ । अव्यवस्थित बसोबासीलाई दोस्रो चरणमा लालपूर्जा दिने आयोग अध्यक्ष दाहालको भनाइ छ ।
पत्रकार सम्मेलनमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले जिल्लामा २०३३ सालमै नापी भएर फिल्डबुक तयार भएर पनि हालसम्म जग्गाधनी पूर्जा नपाएका सेवाग्राही धेरै भएको भन्दै उनीहरुको सम्बोधन हुनुपर्ने बताए ।






