दसैँका लागि हवाई टिकट बुकिङ धमाधम

तामसालिङ खबर
१९ भाद्र २०७९, आईतवार १५:५२

भदौ, काठमाडौँ – दशै, तिहार, छठ लगायत चाडपर्व नेपालीको महत्वपूर्ण उत्सव हुन् । दसैँमा गाउँघर जाने, आफन्तसँग भेटघाट गर्ने र नयाँ लुगा लगाउने परम्परागत चलन छ ।

वर्षदिनको महत्वपूर्ण चाड भएकाले देश तथा विदेशदेखि सहर, सदरमुकामदेखि गाउँबेसी पुग्नेको लर्को लाग्छ । उनीहरु आफन्त र मान्यजनबाट टिका तथा आशिर्वाद थाप्न लामो यात्रा तय गरेर गन्तव्य पुग्छन् ।

दसैँमा आवतजावत गर्ने महत्वपूर्ण माध्यम भनेको सडक तथा हवाई यातायात नै हो । अझ प्रभावकारी यातायातको रुपमा हवाईसेवालाई लिइन्छ ।

दसैँ आउन करिब तीन साता बाँकी रहँदा अहिले अधिकांश गन्तव्यको टिकट बुकिङ भइसकेको छ । वायु सेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले दसैँका लागि धमाधम बुकिङ भइरहेको जानकारी दिनुभयो । उहाँले अहिले धेरैजसो गन्तव्यको अनलाइन बुकिङ सकिएको बताउनुभयो ।

“दसैँका लागि अधिकांश बुकिङ भइसकेको छ, यात्रुको मागका आधारमा उडान सङ्ख्या थप्ने योजनामा छौँ ‘ट्रक रुट’ मा त्यति समस्या छैन ‘स्टल रुट’ मा जहाज लिमिटेड भएकाले अत्यधिक चाप हुन्छ ।”

प्रवक्ता शर्माले दसैँ लक्षित अनलाइन बुकिङ सकिए पनि जहाज प्रयाप्त रहेकाले थप उडान सञ्चालन गरिने जानकारी दिनुभयो । सामान्यतया दसैँ आउन एक महिनाअघि देखि नै हवाई टिकट खुलाइन्छ । अहिले अनलाइनबाट सहज रुपमा टिकट पाइने भएकाले अधिकांश हवाई गन्तव्यको टिकट बुकिङ भइसकेको एयरलाइन्सले जनाएका छन् ।

उनीहरुका अनुसार दसैँलाई लक्षित गरेर अहिले ७० प्रतिशत हाराहारी टिकट बुकिङ भइसकेको छ । सङ्घका प्रवक्ता कँडेल अनलाईनबाटै अधिकांश बुकिङ भएको बताउनुहुन्छ ।

आन्तरिक उडानका अग्रणी वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य, सिम्रिक, सीता र समिट एयरको अग्रिम बुकिङ धमाधम भइरहेको छ । आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले उडान भर्दै आएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार आन्तरिक उडानतर्फ अहिले दैनिक दुई सय ६० दुईतर्फी उडानमार्फत झण्डै १३ हजार यात्रु आवतजावत गरिरहेका छन् ।

दसैँमा दैनिक तीन सय ५० हाराहारी उडानबाट २० हजार बढी यात्रुले सेवा लिने उहाँको अनुमान छ । “कोभिड-१९ महामारीमा उडानको चाप थियो, यस पटकको दसैँमा झनै यात्रुको चाप हुने देखिन्छ, यात्रुको मागअनुसार उडान थप्छौँ”, प्रवक्ता सिटौलाले भन्नुभयो ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले दसैँका लागि अहिले धमाधम बुकिङ भइरहेको र समग्रमा ७० प्रतिशतसम्म टिकट बुकिङ भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार कम्पनीको अनलाइनबाट मात्रै ८० प्रतिशत बुकिङ भइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*