चेपाङ समुदायको छोनाम (न्वागी) पर्व मनाइदै, तीन जिल्लामा सार्वजनिक विदा
भदौ, हेटौडा – बगमती प्रदेश सरकारले आज चेपाङ समुदायको छोनाम (न्वागी) को अबसरमा तीन जिल्लामा सार्वजनिक विदा दिएको छ ।
आज चेपाङ समुदायको पर्व न्वागीको अवसरमा बागमती प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो । बागमती प्रदेशको मकवानपुर, चितवन र धादिङमा चेपाङ जातीको बसोबास रहेको सार्वजनिक विदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
सरकारको गत चैत्र ९ गतेको निर्णय अनुसार न्वागीको अवसरमा विदा दिइएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
घरमा नयाँ अन्न भित्रिएको खुशीयालीमा मनाइने छोनाम (न्वागी) पर्व चेपाङहरुले मनाउने गर्दछन् । चेपाङ पाण्डे (पुजारी) हरूले रातभर एकपाखे ढ्याङ्ग्रो बजाएर पान्देई घ्यासा (पितृ मन्छाउँदै) प्रकृतिलाई पूजा गरेर छोनाम अर्थात न्वागी पर्व मनाउँछन् । उनीहरुको हरेक वर्ष घिरौंला, निबुवा, घैया धान, पिँडालु, गाभा जस्ता नयाँ अन्नबाली, तरकारी खान पूजा गर्नुपर्ने नियम छ । नयाँ बाली खान यो पूजा गरेर पर्व मनाइन्छ । यो पूजा नगरेसम्म नयाँ बाली खान नपाइने र रोग व्याध लाग्ने उनीहरुको परम्परा एवं विश्वाश रहेको छ ।
राति केरा, पिँडालु, घिरौला, निबुवा, घैया धान घरमा भित्र्याएर सबै राखेर पूजा गरेर ढ्यांग्रो बजाउँदै न्वागी फलाक्ने गरिन्छ भने बेलुका देखि सुरु हुने पूजा रातभरि गरेर विहान सुझाइबुझाई गरेपछि खानेकुरा खाने गरिन्छ ।
पूजा मार्फत् नै घरमा भित्रिएका अन्न कुलदेवतालाई चढाउने गरिन्छ । चेपाङ जातिले मान्ने देवीदेवता, पितृ सबैलाई चढाएर मात्र खाने गर्दछन । चेपाङ समुदायले न्वागी पर्वमा आफूले उब्जाएको अन्नले वर्षभरि खान पुगोस् भनेर कामना गर्छन् । न्वागीमा आफन्तहरु जम्मा भएर पूजा गर्ने, ढ्यांग्रो बजाउने, आपसमा खुशीयाली साटासाट
गर्छन्, ।
न्वागी फलाक्ने काम ‘पाण्डे बा’ वा ‘पाण्डे आमा’ ले गर्छन् । परम्पराअनुसार देउताले रचेर बास दिएका व्यक्तिलाई मात्र पाण्डे बा, पाण्डे आमा भनिने चेपाङ समुदायको भनाइ छ ।
न्वागी पर्वमा सामूहिक भोज खाने, नाचगान गर्दै रमाइलो गर्ने गरिन्छ। न्वागीलाई चेपाङ जातिले सबैभन्दा ठूलो पर्वका रुपमा मनाउँछन् । दसैं, तिहार लगायतका पर्व मनाउने चेपाङ जातिले भुँयार, वायु पूजा गर्छन्।






