काठमाडौं महानगरभित्रका घर, भवनलाई नक्सा पास गर्न ९० दिनको समय

तामसालिङ खबर
२३ भाद्र २०७९, बिहीबार ०८:४८

भदौ, काठमाडौ – काठमाडौं महानगरपालिकाले महानगर क्षेत्र भित्र नक्सा पास नगरी बनाइएका घर तथा भवनको नक्सा पास ९० दिनभित्र गरिसक्न आग्रह गरेको छ।

महानगरको शहरी व्यवस्थापन विभागले आज सार्वजनिक सूचना निकालेर सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको समेत नक्सा पास गर्न भनिएको छ।

नक्सा पास नगरी बनेका यस्ता संरचना ९० दिनभित्र नक्सा पास नगरे महानगरले कारबाही प्रक्रिया अघि बढाउने पनि चेतावनी दिएको छ। ‘मापदण्ड अनुकूल रहेका भवन वा घरको नक्सा ९० दिनभित्र पास गर्न अनुरोध गरिन्छ,’ सूचनामा उल्लेख छ।

९० दिनभित्र नक्सा पास नगरे स्थानीय सरकार सञ्चालन ऐन २०७४ र प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड, संहिता र कार्यविधि तथा कार्यालयको निर्णयअनुसार कारबाही गरिने महानगरले जनाएको छ।

यस्तै महानगरले घरको सीमा पर्खालको नक्सा पास गर्न पनि भनेको छ। नक्साविनै बनाइएका सीमा पर्खाल (कम्पाउन्ड वाल) ३५ दिनभित्र भत्काउन पनि महानगरले आग्रह गरेको छ। घरधनीले सीमा पर्खाल नभत्काए महानगरले भत्काइदिने पनि चेतावनी दिएको छ।

जुनसुकै प्रकृतिको घरजग्गा घेर्न निर्माण गरिने सीमा पर्खालको नक्सा पेश गरी प्रचलित कानूनअनुसार नक्सा पास भएपछि मात्र त्यस्तो सीमा पर्खाल लगाउन महानगरले आग्रह गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*