मकवानपुर क्याम्पसले अनुसन्धानमूलक कार्यक्रमहरु सञ्चालन गरिने – प्रमुख उपाध्याय
भदौ, हेटौडा – मकवानपुर बहुमुखी क्याम्पसले अनुसन्धान केन्द्रीत कार्यक्रमहरु सञ्चालन गरिने भएको छ । सोमबार क्याम्पसको सभाहलमा भएको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
सम्मेलनमा क्याम्पस प्रमुख शंकरप्रसाद उपाध्यायले अनुसन्धानका विषयमा अध्ययन अध्यापन गराउने कार्य लामो समयदेखि भए पनि अनुसन्धानमूलक कार्यक्रमहरु कम सञ्चालन भएको सन्दर्भमा अबका दिनमा अनुसन्धान केन्द्रीत कार्यक्रमहरु विशेष रुपमा सञ्चालन गरिने बताउनु भयो ।
क्याम्पसमा सेल्फ ससटेन्ड कार्यक्रम अन्तर्गत वि.सं.२०७० सालदेखि बिबिएम र २०७५ सालदेखि बिबिए कार्यक्रम सञ्चालनमा रहेको उनले जानकारी दिए । यस्तै, शिक्षा संकाय अन्तर्गत सूचना प्रविधीमा आधारित बिआइसिटिइ कार्यक्रम यसै वर्षदेखि शुरु हुने उनले बताए ।
क्याम्पसले चालु आर्थिक वर्ष २०७९/०८० को अनुमानित आय–व्यय पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षकालागि क्याम्पसले २४ करोड ११ लाख ९० हजार १ सय ७० रुपैयाँको आयव्यय सार्वजनिक गरिएको हो ।
हाल क्याम्पसमा प्राध्यापकतर्फ ८१ जना, कर्मचारीतर्फ ३२ जना तथा आउट सोर्सिङ कर्मचारी ५ जना रहेका छन् । यस्तै, हाल ६,३२४ जना विद्यार्थी क्याम्पसमा अध्ययन गरिरहेको मकवानपुर बहुमुखी क्याम्पसले जानकारी दिएको छ ।






