निलम्बित कप्तान लामिछानेसँग जोडेर फेक फोटो भाइरल, युवतीले दिइन् उजुरी

तामसालिङ खबर
२७ भाद्र २०७९, सोमबार १९:०६

भदौ, काठमाडौं – राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लगाउने किशोरी भन्दै सामाजिक सञ्जालमा असम्बन्धित तस्वीर भाइरल बनाइएको छ ।

आफ्नो तस्बिर दुरुपयोग गरिएको भन्दै भाइरल भएकी युवतीले साइबर ब्यूरोमा उजुरी दिएकी छिन् । ब्यूरो स्रोतका अनुसार युवतीले केही दिनअघि निवेदन दिएकी छिन् । उनले सामाजिक सञ्जालमा प्रयोग भइरहेको तस्बिर तथा त्यसमा आएका गालीगलौजको स्क्रिन सट सहित निवेदन दिइएको बुझिएको छ ।

आफूले सन्दीपविरुद्ध कुनै आरोप नलगाएको भन्दै बिनाकारण बदनाम गर्न खोजिएको ती युवतीले गुनासो गरेकी छन् । यसमा संलग्नहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउन उनको माग छ ।

गत मंगलबार एक १७ वर्षीया किशोरीले सन्दीपविरुद्ध बलात्कारको आरोप लगाउँदै महानगरीय प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । त्यसको दुई–तीन दिनपछि केही फेसबुक ग्रुपहरुले जाहेरीकर्ता किशोरी भन्दै एउटा तस्बिर सार्वजनिक गरेका हुन् ।

नेपालको कानून अनुसार यसै पनि यस्तो घटनामा जाहेरीकर्ताको पहिचान र तस्बिर सार्वजनिक गर्न मिल्दैन । त्यसमाथि यसरी सार्वजनिक गरिएको तस्बिर सम्बन्धित व्यक्तिमा नभएको एक प्रहरी अधिकृतले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*