नेपाल एअरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने

तामसालिङ खबर
२६ कार्तिक २०७९, शनिबार १७:३७

कार्तिक, काठमाण्डौ – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) ले रुपन्देहीको भैरहवामा रहेकाे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ ।

डिसेम्बरको अन्तिमसम्म भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको तयारी भइरहेको नेपाल एअरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार त्यस प्रयोजनका लागि निगमका वाणिज्य निर्देशक जनकराज कालाखेतीको संयोजकत्वमा गठित समितिले उडान सञ्चालन बारे अध्ययन गरिरहेको छ ।

अध्ययन प्रतिवेदन बुझाएपछि निगमको बोर्ड बैठकबाट निर्णय गरी डिसेम्बर भित्रै व्यावसायिक उडान सञ्चालनको योजना अनुरुप सरोकारवाला सँग परामर्श भइरहेको प्रवक्ता खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “डिसेम्बरको अन्तसम्ममा उडान गर्ने भनेर तयारी हुँदैछ । कुन-कुन गन्तव्यमा उडाउने भन्नेबारे समितिको प्रतिवेदनपश्चात् बोर्डले निर्णय लिनेछ ।”

अहिले गौतमबुद्ध विमानस्थलबाट कुवेतको जजिरा एअरलाइन्सले हप्तामा तीनवटा उडान गरिरहेको छ । नेपाल एअरलाइन्सले भारतका तीन सहित आठ देशका १० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । एअरलाइन्स सँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाइडबडी ए–३३० र दुई थान न्यारोबडी ए–३२० जहाज छन् ।

गौतमबुद्ध विमानस्थल व्यावसायिकरूपमा सञ्चालनमा आएको साढे पाँच महिनापछि गएकाे कात्तिक १७ देखि हिमालय एअरलाइन्सले मलेसियाको क्वालालम्पुरका लागि नियमित चार्टर्ड उडान सञ्चालन गर्दै आएको छ । एअरलाइन्सले दैनिक एक चार्टर्ड उडान गरिरहेको छ ।

नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिकरूपमा तीनभन्दा बढी उडान गर्ने विमान कम्पनीलाई भैरहवाबाट पनि गर्नुपर्ने व्यवस्था गरेको थियो । जसका कारण हिमालय एअरलाइन्सले चार्टर्ड उडान सुरु गरेको थियो । नेपाल एअरलाइन्सले पनि थप उडानका लागि भैरहवा विमानस्थलबाट उडान गर्न लागेको हो । नेपाल एअरलाइन्सले भैरहवाबाट छिट्टै अन्तर्राष्ट्रिय उडान गर्ने गरी छलफलमा रहेको प्राधिकरणको भनाइ छ ।

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थलमा स्वदेशी कम्पनीले कम्तीमा पनि एउटा अन्तर्राष्ट्रिय उडान गर्दै अन्तर्राष्ट्रिय एअरलाइन्सलाई आकर्षित गर्न नियामक निकायले बाध्यकारी व्यवस्था गरेको थियो । प्राधिकरणले नेपालका दुई नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्ससहित पाँच अन्तर्राष्ट्रिय एअरलाइन्सलाई गौतमबुद्ध विमानस्थलबाट उडान गर्न लिखितरुपमा आग्रह गरिसकेको छ ।

प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी विदेश जाने यात्रुलाई आन्तरिक उडानमा २५ प्रतिशत छुट दिने निर्णयसमेत भएको छ । यो विमानस्थलबाट नोभेम्बर १२ तारिखदेखि कुवेत एअरले पनि उडान सुरु गर्ने प्राधिकरणले जनाएको छ । यस्तै थाइल्याण्डलगायतका देशका वायुसेवा कम्पनीबाट समेत उडान भर्ने तयारी भइरहेको प्राधिकरणको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*