हेटौंडा उपमहानगरपालिकाको संशोधित बजेट ३ अर्ब ५ करोड
पुष, हेटौंडा – हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० को संशोधित बजेट ३ अर्ब ५ करोड पुर्याएको छ । गत असारमा सम्पन्न ११ औं नगर परिषदद्वारा चालु आर्थिक वर्ष २०७९/८० को बजेट २ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ पारित गरेको थियो ।
अघिल्लो आर्थिक वर्षको ३७ करोड रुपैयाँ भन्दा बढी जिम्मेवारी सरेका योजना तथा कार्यक्रमको भुक्तानी गर्नुपर्ने भएपछि संशोधित बजेट बढेर आएको हो ।
हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले नगर परिषद् बैठकमा उपमहानगरको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुँदै चालु आर्थिक वर्षको हालसम्मको प्रगति विवरण प्रस्तुत गर्नुका साथै चालु आर्थिक वर्षको बाँकी अवधिमा गर्नुपर्ने कार्य र लक्ष्यको विवरण प्रस्तुत गर्नुभएको थियो ।
चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म संघीय सरकारबाट समानीकरण तथा सशर्त अनुदानतर्फ ५५ करोड ४६ लाख रुपैयाँ, प्रदेश सरकार समानीकरण अनुदानतर्फ ३७ लाख ५० हजार रुपैयाँ, राजश्व बाँडफाँटतर्फ ६ करोड ७ लाख ६८ हजार रुपैयाँ र आन्तरिक स्रोतबाट ८७ करोड ८७ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको उपप्रमुख बानियाँले जानकारी गराउनुभयो । उपमहानगरले पूर्वाधार क्षेत्रतर्फ २ सय ५८ वटा योजनाहरु मध्ये ४८ वटा सम्पन्न गरेको उल्लेख गरिएको छ ।
हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको सभाध्यक्षतामा सम्पन्न भएको नगर परिषद्मा संघीय सांसद महेश कुमार बर्तौला, प्रदेश सभा सदस्यहरु ईन्द्रबहादुर बानियाँ, प्रेमबहादुर पुलामी, एकालाल श्रेष्ठ, मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, महाशाखा प्रमुख, शाखा प्रमुख, वडा सचिव, तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
नगर परिषद्को अवसरमा योजना कार्यान्वयनका आधारमा हेटौंडा–१४ लाई प्रथम र हेटौंडा–१५ लाई द्वितीय घोषित गरिएको छ । प्रथम र द्वितीय हुन सफल वडालाई क्रमशः २० लाख र १५ लाख रुपैयाँ बराबरका योजना अनुदानस्वरुप उपलब्ध गराउने भएको छ ।






