खानीखोला गाउँपालिकाले विविध कार्यक्रम गर्दै ल्होछार मनाइने, पालिकामा तिन दिनसम्म सार्वजनिक बिदा

तामसालिङ खबर
१ माघ २०७९, आईतवार १०:३०

माघ, तालढुङगा (काभ्रे) – काभ्रेको खानीखोला गाउँपालिकाले तामाङ समुदायको राष्ट्रिय सांस्कृतिक पर्व ‘सोनाम ल्होछार’ को अबसरमा तीन दिन सम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गाउँ कार्यपालिकाको बैठकले २८५९ तावर/ह्योई ल्हो (विरालो वर्ग) सोनाम ल्होछारको अवसरमा गाउँपालिका कार्यालय र त्यस अन्तर्गतका सरकारी कार्यालयमा यहि माघ ७, ८ र ९ गते तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको पालिका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ) ले जानकारी दिनुभयो ।

पालिकाले विविध कार्यक्रम गर्दै ल्होछार मनाउने
स्थानीय सरकार खानीखोला गाउँपालिकाले यस पटक देखि विविध कार्यक्रमको आयोजना गर्दै तिन दिन सम्म २८५९ ह्योई/तावार ल्हो (बिरालो बर्ग) सोनाम ल्होछार मनाउने भएको छ ।

पालिकाले माघ ७ गते पहिलो दिन लामा खेन्पोबाट पुजा, दोस्रो दिन ८ गते तामाङ भाषाको व्हाईखा (कविता) प्रतियोगिता र ताम्बा/डम्फू गीत प्रतियोगिता सँगै तेस्रो दिन ९ गते बृहत साँस्कृतिक कार्यक्रम सहित ल्होछार मनाउन लागिएको पालिका अध्यक्ष थिङले जानकारी दिनुभयो ।

गाउँपालिकाको उपाध्यक्ष दोर्जेमान जिम्बाको संयोजकत्वमा ३५ सदस्यीय ल्होछार मुल आयोजक समितिले ल्होछारलाई भव्य रुपमा मनाउने तयारी गरिरहेको छ। ल्होछारलाई गाउँपालिकाको साझा पर्वको रुपमा मनाउने अध्यक्ष थिङको भनाई छ । व्हाईखा र ताम्बा प्रतियोगिताका प्रथम, द्धितीय र तृतीयलाई नगद सहित प्रमाणपत्र समेत दिइने आयोजकले जनाएको छ ।

त्यस्तै ल्होछारको अवसरमा गाउँपालिकाभित्र जन्मिएर विभिन्न क्षेत्रमा योगदान पुर्याएको व्यक्तिहरुलाई ‘खानीखोला प्रतिभा सम्मान’ कार्यक्रम मार्फत् सम्मान गरिने तयारी समेत भएको संयोजक जिम्बाले बताउनु भयो ।

चन्द्रपात्रो अनुसार १२ वटा जीवजन्तुको नामबाट ल्हो खोर्लाे अर्थात् वर्ष चक्रको आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाई र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधि अनुसार ल्होछार पर्व मनाउने गरिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*