राक्सिराङमा अर्धवार्षिक समीक्षा अनुमोदन सहित ७ वटा प्रस्ताव पारित

तामसालिङ खबर
३० पुष २०७९, शनिबार ०६:०१

पुष, हेटौंडा (राक्सिराङ) – मकवानपुरको राक्सिराङ गाउँपालिकाको १३ औं गाउँसभा शुक्रबार सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र चैनपुरमा भएको गाउँसभाबाट अर्धवार्षिक समीक्षा अनुमोदन सहित ७ वटा प्रस्ताव माथि छलफल भई सर्वसम्मत पारित गरिएको हो ।

कार्यपालिका सदस्य तथा १ नम्बर वडाध्यक्ष बाबिराम मुक्तानले गाउँसभामा चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अनुमोदन सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । मुक्तानले पेश गरेको अर्धवार्षिक समीक्षासम्बन्धी प्रस्तावमा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १४ दशमलव १६ प्रतिशत बजेट खर्च गर्न सफल भएको उल्लेख छ । चालिस करोड २९ लाख चालिस हजार रुपैयाँको बजेट बनाएको गाउँपालिकाले चालु वर्षको पुस २० गतेसम्ममा ६० लाख ७ हजार रुपैयाँ खर्च गर्न सफल भएको बताइएको छ ।

सभाले न्यायिक समितिको वार्षिक प्रतिवेदन तथा मेलमिलापकर्ताहरुको नाम अनुमोदन गर्ने सम्बन्धी प्रस्तावका साथ संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गर्ने सम्बन्धी प्रस्ताव पनि सर्वसम्मत पारित गरेको थियो । यस्तै स्थानीय तह संस्थागत स्वमूल्यांकन नतिजामाथि छलफल गर्ने प्रस्तावमाथि पनि आवश्यक छलफल भई पारित गरिएको छ भने उपाध्यक्ष बनस्तम थिङद्धारा प्रस्तुत वार्षिक बजेट तथा कार्यक्रम संशोधनसम्बन्धी प्रस्ताव पनि पारित गरिएको थियो ।

आकस्मिक कार्यका लागि अधिकार प्रत्यायोजन र हालसम्म भए गरेका निर्णय कार्यहरु अनुमोदन सम्बन्धी प्रस्ताव पनि गाउँसभाबाट सर्वसम्मत स्वीकृत गरिएको छ । साथै आर्थिक वर्ष २०७७÷०७८ सम्मको बेरुजु नियमित गर्ने सम्बन्धी प्रस्तावमाथि पनि छलफल भई गाउँसभाबाट सर्वसम्मत स्वीकृत भएको छ ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा गाउँसभाको बन्द सत्र सञ्चालन गरिएको थियो । सभामा गाउँपालिका उपाध्यक्ष वनस्तम थिङ, सभाका सदस्य सचिव तथा प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलासहित वडाध्यक्ष, कार्यपालिका सदस्य एवम् वडा सदस्यको सहभागिता थियो ।

गाउँसभा उद्घाटन समारोहकाबीच गाउँपालिकाले विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई पुरस्कृत तथा सम्मानित गरेको छ । गाउँपालिकाले कार्यालय सहयोगीदेखि समाजसेवीसम्मलाई नगदसहित पुरस्कृत तथा सम्मानित गरेको हो ।

पत्रकारितामार्फत राक्सिराङको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै ग्यालेक्सी टेलिभिजनका प्रदेश ब्यूरो प्रमुख देवराज पन्त र थाहा खबरकी संवाददाता सिर्जना नेपाललाई गाउँपालिकाले नगदसहित सम्मान गरेको छ । शिक्षातर्फ उत्कृष्ट शिक्षकको रुपमा विश्व लामालाई प्रसंशापत्र दिइएको छ भने उत्कृष्ट विद्यालयतर्फ सूर्योदय मावि राक्सिराङ ३ लाई घोषित गरिएको छ । एसईई परीक्षामा गाउँपालिकामै सर्वोत्कृष्ट अंक ल्याउने छात्रतर्फ सन्तोष घलान र छात्रातर्फ सुप्रिया सुवेदीलाई नगदसहित पुरस्कृत गरिएको छ ।

उत्कृष्ट गैरसरकारी संस्थातर्फ समुन्नत नेपाललाई पुरस्कृत गरिएको छ भने उत्कृष्ट समाजसेवीका रुपमा गाउँपालिकाका अविशेक उप्रेतीलाई सम्मान गरिएको छ । सहकारी संस्थातर्फ राक्सिराङ बहुद्धेश्यीय सहकारी संस्था र कृषि सहकारीतर्फ कुँडुले महिला कृषि सहकारी संस्था लिमिटेडलाई सम्मान गरिएको छ ।

सराब अग्र्यानिक कृषि फार्म राक्सिराङ- ८ लाई उत्कृष्ट कृषि फर्म घोषित गरी गाउँपालिकाले पुरस्कार दियो भने राक्सिराङ ५ कि सरिता स्याङ्बो उत्कृष्ट महिला उद्यमी घोषित भइन् । सामुदायिक वन समूहका तर्फ सिलिङ्गे सामुदायिक वन उपभोक्ता समूह उत्कृष्ट घोषित भयो भने योजना उपभोक्ता समितिमा पार्सिवाङ रिन्चराङ उपभोक्ता समितिलाई पुरस्कृत गरिएको थियो ।

मृद्धिका लागि एकता टोल राक्सिराङ ८ लाई उत्कृष्ट टोल विकास संस्थाको रुपमा पुरस्कृत गरियो भने मेलमिलाप केन्द्रतर्फ राक्सिराङ ३ को मेलमिलाप केन्द्रलाई उत्कृष्ट घोषित गरी थलबहादुर थापा र कविता बललाई पुरस्कृत गरियो । स्वास्थ्यकर्मी गणेशकुमार मोक्तान, महिला स्वयम्सेविका विष्णुमाया नगरकोटी, वडा सचिव दशरथ गुरागाई, उत्कृष्ट कर्मचारी पासाङ बल लामा, ५ नम्बर वडाका कार्यालय सहयोगी तिर्थ मोक्तानलाई पनि उत्कृष्ट घोषित गरी गाउँपालिकाले पुरस्कार दिएको थियो । राक्सिराङ– ९ स्थायी निवासी धर्मराज स्याङ्तानले साहित्य मार्फत योगदान गरेको भन्दै गाउँपालिकाले सम्मान प्रदान गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*